शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – मारिओपोल शहरको अजोवस्टल कारखानामा घेरिएका झण्डै एक हजार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको रुसले बताएको छ । सो शहर रुसको कब्जामा परेयता उनीहरु कारखानाको भूमिगत सुरुङमा बसेर लडिरहेका थिए ।

आत्मसमर्पण गर्नेमा नवनाजीको आरोप खेपिरहेको अजोव बटालियनका लडाकुहरु पनि छन् । गएको २४ घण्टामा ६९४ जनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

यसअघि सोमबार २५६ जनाले हतियार बिसाएका थिए । यसरी आत्मसमर्पण गरेका ९५९ मध्ये ८० जना घाइते रहेको र घाइतेमध्ये ५१ जनालाई अस्पताल लगिएको रुसले जनाएको छ । युक्रेनले भने आफ्ना कति सैनिकले आत्मसमर्पण गरे, खुलाएको छैन । रुसले नवनाजी भनेर दानवीकरण गरिरहेको अजोव बटालियनलाई युक्रेनले भने नायकको दर्जा दिएको छ । २०१४ मा मिलिसियाको रुपमा गठित अजोव बटालियनलाई पछि युक्रेनी सेनामा मिसाइएको थियो ।

कारखानाभित्र घेरामा परेको हप्तौं बित्दा पनि उनीहरुले आत्मसमर्पण गर्न अस्वीकार गर्दै आएका थिए । रुसीहरुको हातमा आफूहरु असुरक्षित हुने भन्दै उद्धारका लागि उनीहरुले विश्वव्यापी आह्वान गरेका थिए । घेरिएका अजोव सैनिकका पत्नीहरुले पनि विभिन्न मुलुक र संस्थालाई उद्धारका लागि गुहार लगाएका थिए ।

तर, हतियार, खाना, औषधिलगायतको अभावका कारण मृत्युको मुखमा पुग्ने स्थिति आएपछि उनीहरुले हतियार बिसाएका हुन् । उनीहरुलाई खानतलासीपछि बस चढाएर रुसको नियन्त्रणमा रहेका क्षेत्रमा लगिएको छ । उनीहरुलाई युद्धबन्दी साटासाट गरेर मुक्त गरिने युक्रेनको भनाइ छ । तर, उनीहरुको भाग्यको फैसला अदालतले गर्ने स्वघोषित दोनेस्क गणतन्त्रका प्रमुख देनिस पुसिलिनले बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया