आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईको कार्यवाहक अध्यक्षको जिम्मेवारी विवश थापा मगरलाई दिइएको छ । क्षेत्रीय समिति तोकाईका अध्यक्ष जयप्रकाश घर्ती मगरले वर्तमान उपाध्यक्ष रहेका विवश थापा मगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

लामो समयको जापान बसाइँपछि आफू नफर्किने गरी जापान छोडेर स्वदेश फर्कन लागेको हुँदा घर्तीले यही मार्च २० तारिख आइतबारको बैठकमा राजीनामा पेश गरेका थिए । बैठकमा सहभागी संरक्षक, सल्लाहकार तथा कार्यसमितिहरू सबैले उनको राजीनामा पत्रलाई स्वीकृत गरेको थियो । उक्त बैठकले उपाध्यक्ष थापा मगरलाई कार्यवाहक अध्यक्ष चुन्ने निर्णय गरेको हो ।

जापान आएको केही समयदेखिनै मगर संघमा आबद्ध भईआएका जय प्रकाशले सन् २०१८ मा तत्कालीन अध्यक्ष विकास राना मगर नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष पदमा रही सक्रिय भूमिका निर्वाह गरेको थिए । ०२० मा भएको अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका उनले तोकाई क्षेत्रमा संस्थागत रूपमा र व्यक्तिगत रूपमा पनि सामाजिक कार्यहरूमा उल्लेखनीय योगदान दिँदै आएका थिए ।

केन्द्रीय सल्लाहकार लक्ष्मण घर्ती मगरले जय प्रकाशको कार्यकालको प्रशंसा गरे । ‘नेपाल मगर संघ जापानको केन्द्रीय समितिसँग पनि सक्रिय रूपमा सम्पर्क र सहकार्य गर्न उहाँ जय प्रकाश घर्ती मगर जी सधैँ अब्बल रहनु भयो’ उनले भने ।

नेपाल मगर संघ जापानका केन्द्रीय अध्यक्ष ओम काउचा मगरले संघप्रति ईमान्दारीता देखाएको भन्दै आभार प्रकट गरे । ‘कुनै पनि पदमा बहाल रहेको व्यक्ति विभिन्न कारणबस् कार्यकाल नसकिँदै देश फर्कनु परेमा औपचारिक रूपमा प्रक्रिया पुरा गरेर बिदा हुनु संघ प्रतिको ईमान्दारीता हो, जो विधानमा पनि उल्लेख छ,’ उनले अगाडि भने, ‘त्यो ईमान्दारीता तोकाई क्षेत्रीय समितिका अध्यक्ष जय प्रकाश जीले पूरा गरेर जाँदै हुनुहुन्छ । यो हामी सबैले पालना गर्नुपर्छ ।’

आउँदो अप्रिल ९ तारिख तोकाईको नागोयामा बिदाइ कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष जय प्रकाश घर्ती मगर र सँगै जान लागेका कार्यसमिति सदस्य नकस घर्ती मगरलाई संघका संरक्षक कौडा बुढा मगरले सम्मान पत्र प्रदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया