काठमाडाैं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्याएको छ । इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो ।
जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ । तर त्यसका लागि अझै केही महिना लाग्ने छ । यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आकलन गरिएको छ ।
अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको बताए । ‘यो नयाँ सिमानामा पुग्ने तयारी गरिरहेको छ,’ उनले भने । ‘यो पुस्ताले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पुर्याउने छ। हामीले पहिलो महिला र पहिलो अश्वेत व्यक्तिलाई चन्द्रमामा पुर्याउँदै छौँ ।’
उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्याउने लक्ष्यका लागि फड्को मार्ने बताए । एक सय मिटर अग्लो भीमकाय एसएलएस १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो । अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ ।
केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलो पटक बिहीवार बाहिर निकालिएको थियो । यसलाई जडान कक्षबाट फ्लोरिडाको समय अनुसार साँझ ५:४७ बजे बाहिर निकालिएको थियो । मोबाइल लञ्चर भनिने ठूलो संरचनासहित यान बाहिर निकालिएको थियो । आफैँमा १२० मिटर अग्लो र ५,००० टन गह्रौँ यो संरचनाले यसअघि अरू अन्तरिक्ष यानहरू बोकेको थियो । यान बोकेको यो साधनले एक घण्टामा एक किलोमिटर दूरी मात्र तय गर्न सक्छ ।
यो साधन ६.७५ किलोमिटरको दूरी पार गर्दै लञ्च प्याडमा पुग्दा शुक्रवार बिहान ४:१५ भएको थियो । एसएलएसलाई आगामी एप्रिल ३ मा हुने भनिएको अक्सिजन सहितका सामग्रीहरूको परीक्षण ‘वेट ड्रेस रिहर्सल’का लागि तयार गरिने छ । यसको पिँधमा राखिएका चार वटा ठूला इञ्जिनहरू चल्न सुरु भएको केही क्षणमै रकेटले जमिन छोड्ने छ ।
इन्जिनियरहरूले यसको सबै परीक्षण पूरा गरेपछि मात्रै नासाले प्रक्षेपणको मिति तय गर्छ । यसको प्रक्षेपण मेको अन्त्यतिर वा जुन वा जुलाईमा हुने ठानिएको छ । आर्टेमिस-१ लक्ष्य अनुसार रकेटबाट मानवरहित क्याप्स्यूल २६ दिनको यात्रामा चन्द्रमाको कक्षमा पठाइने छ ।
त्यसको केही वर्षमा हुने दोस्रो प्रक्षेपणबाट मात्र मानिसलाई बोक्ने छ । नासाले एसएलएस बनाइरहँदा अमेरिकी व्यवसायी इलोन मस्कले त्यसभन्दा पनि ठूलो यान बनाइरहेका छन् । उनले आफ्नो विशाल रकेटलाई स्टारसीप नाम दिएका छन् । एसएलएस जस्तो मध्यम दूरीको उडान चाहिँ यसले भर्न बाँकी नै छ ।
त्यसलाई पुन: प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको छ भने सञ्चालनका लागि पनि सस्तो पर्ने ठानिएको छ । नासाले पहिलो चार एसएलएस मिसनका लागि चार अर्ब अमेरिकी डलर खर्च हुने आकलन गरेको छ ।