मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ — पछिल्ला महिनामा एटीएम मेसिनको संख्या बढ्दै गए पनि त्यसबाट पैसा निकाल्ने क्रम घट्दै गएको छ । विद्युतीय भुक्तानी (वालेट, मोबाइल बैकिङ, कनेक्ट आईपीएस आदि)मा मानिसहरू अभ्यस्त हुन थालेपछि एटीएमबाट पैसा निकाल्ने क्रम घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

एकातिर वालेट, मोबाइल बैकिङ, क्यूआर कोड लगायत विद्युतीय भुक्तानीका माध्यमहरूका प्रयोगकर्ता र कारोबार रकम बढ्नु अर्कोतिर एटीएमका प्रयोगकर्ता र कारोबार रकम दुबै घट्नुले उल्लिखित तथ्य पुष्टी हुने जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गत पुसको तुलनामा माघमा १४ वटाले बढेर कुल एटीएम संख्या ४ हजार ४ सय ३१ पुगेको छ । गत पुसमा यस्तो संख्या ४ हजार ४ सय १७ वटा थिए । एक महिनाको अवधिमा एटीएम संख्या बढे पनि उक्त अवधिमा एटीएममार्फतको कारोबार संख्या र कारोबार रकम दुबै घटेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार गत माघमा मात्र एटीएममार्फत ७५ लाख ४८ हजार ३ सय २९ वटा कारोबार भएका छन् । गत पुसमा यस्तो कारोबार ८४ लाख ५८ हजार ९ सय ४४ थियो ।

यस्तै, गत माघसम्म मानिसहरूले एटीएममार्फत ६२ अर्ब ४५ करोड रुपैयाँ झिकेका छन् । गत पुससम्म एटीएममार्फत ६९ अर्ब २९ करोड रुपैयाँ झिकेका थिए ।

तपाईको प्रतिक्रिया