काठमाडौं – आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आज जारी खेलमा यूएईले नेपाललाई १सय ६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो।
दुबई इन्टरनेशन क्रिकेट मैदानमा खराब सुरुवात गरेको यूएईका मुख्य ब्याट्सम्यानहरु चिराग सुरी र बृत्य अरबिन्दलाई क्रमश ६ र ३ रनमा सोमपाल कामीले आउट गराएपछि सुरुबाटै घरेलु टोली दवाबमा आएको थियो। त्यस्तै अर्का ओपनर मोहम्मद वसीमलाई पनि सोमपालले नै २१ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए। त्यसबाहेक चुन्डनगापोइल रिजवान र रोहन मुस्तफाले समान सर्वाधिक ४० रन बनाउँदा काशिफ दाउदले १८, बसील हमीदले १४ तथा कप्तान अहमेद राजाले १३ रन जोडे।
बलिङतर्फ सानदार प्रदर्शन गरेका सोमपाल कामीले ९ ओभरमा ३९ रन दिएर ४ विकेट लिँदा किफायती बलिङ गरेका करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ३ विकेट लिए। त्यसबाहेक कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।