मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – युक्रेनको राजधानी किभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । किभका मेयर किटाली क्लित्स्कोले अहिलेको अवस्था कठीन र भयावह भएकाले किभमा ३५ घण्टे कर्फ्यु लगाइएको बताएका हुन् । पछिल्लो केहि दिनयता रुसी सेनाले किभमा आक्रमण गरिरहेका छन् । ‘आजको दिन हाम्रा लागि अत्यन्तै कठिन र भयावहपूर्ण छ’, मेयर क्लित्स्कोलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

रुसले किभमा रहेको आवासीय भवन र मेट्रो स्टेसनमा हमला गरेपछि युक्रेनले ३५ घण्टासम्मका लागि कर्फ्यु लगाउने निणर्य गरेको हो । युक्रेनको आपतकालीन सेवाका अनुसार भवनमा गरिएको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । रुसी फौजले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन शनिबारदेखि आक्रमण तीव्र पारेको छ । आक्रमण शुरु गरेको १७ औं दिनमा किभको बाहिरी क्षेत्रमा दुई देशका सेनाबीच भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेलायती रक्षा मन्त्रालयले किभको उत्तरी क्षेत्रमा रहेका रुसी फौज तितरबितर भएका दाबी गरेको छ । शहरलाई घेराबन्दीमा पार्ने प्रयासका लागि फौज बाँडिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

त्यस्तै, खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी शहर रुसी फौजको घेराबन्दीमा परेका बीबीसीले जनाएको छ । रुसी आक्रमण जारी रहेका ती शहरहरूको तापक्रम निकै घटेको र कठ्यांग्रिँदो चिसोमा मानिसहरू बिजुली र पानी बिना बस्न बाध्य भएका जनाइएको छ । रुसले आंशिक युद्धविरामको घोषणा गरे पनि युक्रेनका मुख्य शहरहरूमा लगातार आक्रमण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया