सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – साउदी अरबले शनिवार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको बताएको छ । उक्त सङ्ख्या त्यहाँ गत वर्ष मृत्युदण्ड दिइएका मानिसको कुल सङ्ख्याभन्दा बढी हो ।

मृत्युदण्ड पाउनेमा ३७ साउदी, सात यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरूलाई आतङ्कवादसहित विभिन्न जघन्य अपराधमा दोषी ठहर गरिएको सरकारी समाचारसंस्था एसपीएले जनाएको छ । उनीहरूमध्ये केहीलाई इस्लामिक स्टेट समूह (आईएस), अल कायदा वा यमनका हूथी विद्रोही समूहमा संलग्न रहेको आरोप लगाइएको थियो ।

मानव अधिकारवादी सङ्गठनहरूले साउदी अरबमा निष्पक्ष सुनुवाइ नहुने गरेको दाबी गर्ने गरेका छन् । यद्यपि साउदी सरकारले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । एसपीएका अनुसार अहिले मृत्युदण्ड दिइएका प्रतिवादीहरूको मुद्दा १३ जना न्यायाधीशले हेरेका थिए । मुद्दा तीन चरणको न्यायिक प्रक्रियाबाट अघि बढेको थियो ।

उनीहरूलाई अर्थतन्त्रसम्बन्धी महत्त्वपूर्ण संयन्त्रमा आक्रमण गर्न निसाना बनाएको, सुरक्षा निकायका सदस्यहरूलाई मारेको वा तारो बनाएको, अपहरण गरेको, यातना दिएको, बलात्कार गरेको र तस्करी गरेर देशभित्र अस्त्र ल्याएको जस्ता अभियोग लगाइएको थियो । मृत्युदण्ड दिइने उच्च दर भएका देशहरूको सूचीमा साउदी अरब शीर्षस्थ पाँचौँ स्थानमा छ ।

प्राप्त तथ्याङ्कका आधारमा एम्नेस्टी इन्टरन्याश्नलले बनाएको सूचीमा चीन, इरान, इजिप्ट र इराकपछि साउदी अरबमा उच्च दरमा मृत्युदण्ड दिइने गरेको देखिन्छ । गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया