सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानको आईची प्रिफेक्चरमा रहेको कासुगाई शहरमा ‘तोकाई बाटिका इन्टरनेशनल स्कुल’ सञ्चालनमा ल्याइने भएको छ । नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनसहित अङ्ग्रेजी माध्यमका कक्षाहरू पढाउने उद्देश्यका साथ आउँदो अप्रिलबाट स्कुल सञ्चालनमा ल्याइने भएको हो ।

स्कुलका सञ्चालनमध्येका एक सदस्यकाअनुसार अहिले के.जी बाट कक्षा ६ सम्म सुरु गर्न लागिएको स्कुलमा प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रियस्तरका आधारभूत सम्पूर्ण सुविधाहरू अन्तर्गत स्विमिङ पुल, इनडोर स्पोर्ट्स हल, ठूलो ग्राउन्ड, बाल उद्यान रहेको उनको भनाई छ ।स्कुलको पाठ्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयले तोके बमोजिम अङ्ग्रेजी माध्यममा हुने गरी तयार पारिनेछ । साथै स्कुलको प्रिन्सिपलको रूपमा क्यानेडियन नागरिक विकहम (Mr. Wickham)लाई नियुक्ति गरिएको छ । उनको नियुक्तिले विद्यार्थीहरूको अङ्ग्रेजी भाषाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैगरी स्कुलको शिक्षकहरूमा ब्रिटिस नागरिक, जापानी नागरिक, इन्डियन नागरिकसहित अनुभवी नेपाली शिक्षकहरू रहेका छन् । स्कुलमा नेपालीमात्र नभएर विदेशी विद्यार्थीहरूको लागि पनि अध्ययन अध्यापनको सहज वातावरण उपलब्ध गराइने कुरामा जोड गरिएको छ ।स्कुलको अध्ययनपश्चात् जापान तथा बाहिरको विश्वविद्यालयहरूमा अध्ययनको लागि चाहिने सम्पूर्ण उच्च गुणस्तरीय शिक्षा उपलब्ध गराउनेप्रति दृढ रहेको कुरा स्कुलका प्रमुख सञ्चालक एवं कासुगाईको चुवु युनिभर्सीटीमा लामो समयदेखि अध्यापन गर्दै आएका डा. सुदिप अधिकारीको भनाई छ । स्कुललाई नेपालको शिक्षा मन्त्रालयबाट स्वीकृत लिने प्रक्रिया अगाडी बढाइएको छ ।

स्कुलको सम्पूर्ण पाठ्यक्रम अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्ने गराउने भएता पनि जापानी भाषालाई पनि प्राथमिकताका साथ पढाइने लक्ष्य राखिएको स्कुलका अर्का सञ्चालक एवं नागोया गाईकोकुगो युनिभर्सिटीका प्रोफेसर डा. विश्व राज कँडेलले जानकारी दिए । पहिलेदेखि नै जापानको तोकाई क्षेत्रका नेपालीहरुबीच यसप्रकारको स्कुलको आवश्यकता महसुस हुँदै आएपनि विभिन्न कारणले स्कुल सुरुवात गर्न सकिएको थिएन ।समय अभावको बाबजुद स्कुल सम्बन्धी सम्पूर्ण आवश्यक पूर्वाधारका कार्यहरू सम्पन्न गरी अप्रिलबाट स्कुल सञ्चालन हुनेछ । अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई भर्ना गरी सहयोग गरिदिनुहुन पनि आग्रह गरिएको छ । स्कुल सम्बन्धी थप जानकारीको लागि डा. सुदिप अधिकारी (०९०-४२५८-८७६१), डा. विश्व राज कँडेल (०९०-६१४९-३५७९), सुरज काफ्ले (०८०-३६८८-८२९२), विमल अधिकारी (०९०-८३३७-४४२२) र यम बहादुर खत्री (०९०-९९१५-६०२७) मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया