आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

पोखरा – गण्डकी प्रदेश सरकारबाट एकमात्र कोभिड उपचारका लागि तोकिएको सरुवा तथा संक्रामक रोग अस्पतालमा २ हप्ता अघिसम्म एक/दुई जनामात्रै कोभिड संक्रमित उपचाररत थिए । अस्पतालका निर्देशक विकास गौचनलाई लागेको थियो, ‘अब चाँडै यो संख्या पनि घट्ने छ । र, संख्या शून्यमा झर्नेछ ।’

तर, परिस्थिति फरक भइदिएको छ । अहिले उक्त अस्पतालमा फेरि कोभिडका बिरामी दिनानुदिन बढ्न थालेका छन् । निर्देशक गौचनका अनुसार अस्पतालमा बुधबारसम्म शून्यमा पुग्न लागिसकेको संक्रमितको संख्या बढेर ७ जना पुगेको छ ।

‘अघिल्ला ४ हप्तासम्म संक्रमितको संख्या एकदमै कम थियो । त्यो संख्या पनि शून्यमा झर्छ कि भन्ने लागेको थियो,’ डा. गौचन भन्छन्, ‘तर त्यो संख्या फेरि बढ्न थालेको छ । संख्या सँगै फेरि चुनौती थपिँदैछ ।’

डा. गौचनले भनेजस्तै संक्रामक तथा सरुवा रोग अस्पतालमा मात्रै नभई पछिल्लो एकहप्तायता गण्डकीमै कोरोना संक्रमितको संख्या दोब्बर बढेर गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार एक हप्ताअघि गण्डकी प्रदेशभर १ सय ७२ जनामात्रै सक्रिय संक्रमित थिए । तर, बुधबार साँझसम्म उक्त संख्या दोब्बर बढेर ४ सय ५१ पुगेको छ ।

तथ्यांकअनुसार पछिल्लो एकहप्तामा कोरोना संक्रमणदर बढेको मात्रै छैन । सोही अनुपातमा अस्पतालमा भर्ना हुने गम्भीर बिरामीको संख्या समेत बढेको छ । यसबीचमा एकजना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेशभर सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुल संक्रमितमध्ये कास्कीमा मात्रै २ सय ६४ जना सक्रिय संक्रमित छन् । जबकी एकहप्ताअघिसम्म जम्मा १ सय १७ जनामात्रै कास्कीमा सक्रिय संक्रमित थिए ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्ला जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । कोरोना संक्रमित शून्य भएर लामो समय गण्डकीका मनाङ र मुस्ताङ ग्रिन जोनमा थिए । तर, बुधबारको तथ्यांकअनुसार मुस्ताङमा समेत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये अहिले २५ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेडमा मात्रै १२ जना संक्रमितले उपचार गराइरहेका छन् । त्यस्तै, बुधबारसम्म आइसियू बेडमा ४ जना र र भेन्टिलेटरमा २ जना विरामी उपचाररत छन् ।

तपाईको प्रतिक्रिया