सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्त्विक सम्पदा तत्काल घर फर्काउने बारेमा न्युयोर्कमा समझदारी भएको छ ।

सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण आकृति रुबिन म्युजियम अफ आर्टबाट घर फिर्ता आउने भएको छ । म्युजियममा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यी दुई पुरातात्त्विक सम्पदा न्युयोर्कको रुबिन म्युजियममा फेला परेकोबारे गत असोजमा नेपाली सम्पदाको पहिचान तथा प्रमाणीकरणको अभियान लस्ट आर्टस् अफ नेपालले सूचना बाहिर ल्याएको थियो । त्यसलगत्तै सम्पदा पुनः स्थापना अभियानले यी सम्पदा घरफिर्तीका लागि रुबिन म्युजियमलाई पत्राचार गरेर प्रक्रिया अघि बढाइएको थियो ।

पुरातत्त्व विभागले पनि हराएका सम्पदाबारेको प्रमाणीकरण र उत्पत्तिको पहिचानसहितको प्रमाण न्यु योर्क पठाएको थियो । दुईमध्ये ‘माला पहिरिएकी अप्सरा’ लाई ७ सय वर्ष पुरानो सम्पदा मानिएको छ । यो सन् १९९९ देखि हराइरहेको र सन् २००३ मा रुबिन म्युजियमको संग्रहमा पुगेको जानकारी महावाणिज्यदूत कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, ४ सय वर्ष पुरानो मानिने काष्ठकलाको तोरण भने सन् २०१० मा म्युजियमको संग्रहमा पुगेको थियो । सम्पदा घरफिर्तीमा लाग्ने आवश्यक खर्च रुबिन म्युजियम स्वयंले बेहोर्ने भएको छ ।

तपाईको प्रतिक्रिया