काठमाडौं – नयाँ भेरिन्ट ओमिक्रोन भित्रिएसँगै केही दिनदेखि उकालो लागेको कोरोना संक्रमणदर सात प्रतिशत नाघेको छ । शनिबार १३ हजार दुई सय ६४ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएकोमा नौ सय ४४ नमुना अर्थात् ७.११ प्रतिशतको नतिजा पोजेटिभ आएको छ ।
कुल संक्रमितको ५१ प्रतिशत काठमाडौं उपत्याकाका छन् । स्वास्थय मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ नमुनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांकले काठमाडौं जिल्ला मा मात्र कुल संक्रमणको ३८.३४ प्रतिशत रहेको देखाउँछ । शुक्रबार देशभर १४ हजार नौ सय ७१ नमुना परीक्षणमा नौ सय ६८ को नतिजा पोजेटिभ आएको थियो ।
संक्रमितको संखया शनिबारको भन्दा धेरै भए पनि संक्रमणदर ६.४६ प्रतिशत थियो । काठमाडौं उपत्याकामा कुल संक्रमणदर ३७.४२ प्रतिशत थियो । शुक्रबार काठमाडौंमा दुई सय ८४, ललितपुरमा ६१ र भक्तपुरमा २३ संक्रमित भेटिएका थिए । काठमाडौं जिल्लाको संक्रमितको संख्या मात्रै कुल संक्रमितको २९.३३ प्रतिशत थियो ।
आइतबारयता संक्रमित र संक्रमणदर दुवै निरन्तर उकालो लागिरहेको छ । देशभर आइतबार संक्रमणदर २.८३ प्रतिशत, सोमबार २.६० प्रतिशत रहेकोमा मंगलबार ४.२१, बुधबार ४.२३ र बिहीबार ४.४६ प्रतिशत थियो । संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या ६ हजार एक सय ४० पुगेको छ ।