शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टाेकियाे – विश्वमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको कारण देखाउँदै जापानले वाह्य यात्रुका लागि आफ्नो सीमानाका बन्द गरेको छ । विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै जापानले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई जापान प्रवेशमा रोक लगाउने बताएका छन् । जापानलाई उक्त भाइरसको जोखिमबाट बचाउन नयाँ कदम चालिएको उनको दाबी छ । ओमिक्रोनको जोखिम बढ्दै गएपछि जापानले आफ्ना सीमानाका मंगलबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

जापानले हालै मात्र विदेशी विद्यार्थी, व्यवसायी र प्राविधिक तालिम लिनेका लागि यात्रा सहज बनाएको थियो । कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि जापान पछि हटेको हो । प्रधानमन्त्री किशिदाले सोमबार नयाँ मापदण्ड सार्वजनिक गरेका हुन् । देशमा खराब अवस्था आउन नदिने उद्देश्यले यो कदम चालिएको उनको भनाइ छ । ‘हामीले यस देशमा खराब अवस्था नआओस् भन्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।

उनले नामिबियाबाट आएका एक व्यक्तिमा देखिएको संक्रमण नयाँ भेरियन्ट हो या होइन भन्ने बारेमा अधिकारीहहरूले अनुसन्धान गरिरहेका जानकारी दिए । जापानको नेसनल इन्स्टिट्युट अफ इन्फेक्सियस डिजिजले डब्ल्यूएचओलाई पछ्याउँदै ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा राखेको छ । उसले यो भेरियन्ट बढी संक्रामक हुन सक्ने चिन्ता व्यक्त गर्दै बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया