सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई जाँडरक्सी नखान निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए । पार्टी निकट समाजवादी प्रेस सङ्गठन, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘तपाईँहरूमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिनँ । तपाईँको स्वास्थ्यलाई पनि काम गर्छ । म सुझाव दिन चाहन्छु- रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिमाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया