आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – चीनले अर्को सूचना नआउँदासम्मको लागि बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण जारी रहेको भन्दै चीनले बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको हो ।

चिनियाँ विशेषज्ञले चीनमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएसँगै यो स्थानीय प्रतियोगिता रोकिएको हो । चीनले पछिल्लो एक सातामा ११ प्रान्तमा १३३ नयाँ सङ्क्रमित भेटिएको बताएको छ । उनीहरू सबैमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरिअन्ट पाइएको छ ।

अक्टोबर ३१ मा हुन गइरहेको बेइजिङ म्याराथनमा करिब ३० हजार मानिस सहभागी हुने अपेक्षा थियो । यो चीनको सबैभन्दा ठूलो स्थानीय प्रतियोगितामध्येको एक हो । म्याराथन आयोजकले कोरोना महामारीको सङ्क्रमण नियन्त्रणको लागि यो प्रतियोगिता स्थगित गर्नु परेको बताएका छन् ।

अहिले चीनमा स्थानीय टोलीले अर्को प्रान्त तथा सहरमा भ्रमण गरेको कारण सङ्क्रमण फैलिएको हुन सक्ने बताइएको छ । कोरोना सङ्क्रमण नियन्त्रणमा चीन सफल देखिँदै आएको छ । चीनले मुलुकमा सङ्क्रमण फैलिन नदिन लगाइएको विभिन्न प्रतिबन्ध कायमै छ ।

तपाईको प्रतिक्रिया