शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – चीनले एक सय बढी लामो दूरीमा प्रहार गर्न सक्ने आधुनिक रकेट लन्चर भारतसँगको सीमाक्षेत्रमा पठाएको छ । चिनियाँ सेनानिकट स्रोतका अनुसार अहिले भारतसँगको सीमा विवाद कायमै रहेको अवस्थामा चीनले यस्तो निर्णय गरेको हो ।

साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार भारतले सीमा क्षेत्रमा सुरक्षाको लागि अतिरिक्त सुरक्षा बल खटाएसँगै त्यसको जवाफको लागि चीनले सुरक्षा तयारी सुरु गरेको हो । साथै हिमालय क्षेत्रमा जाडो यामको सुरक्षालाई मध्यनजर गर्दै रकेट लन्चर पठाइएको हो ।

यसअघि भारतले पनि सीमा क्षेत्रमा टाढैबाट आक्रमण गर्न सक्ने एम७७७ अल्ट्रा लाइट हाउइटजर पठाएको थियो । त्यसको प्रतिक्रियामा चीनले दोब्बर क्षमताको एक सयभन्दा धेरै पीसीएल–१८१ लाइट, ट्रक माउन्टेट हाउइटजर भारतीय सीमा क्षेत्रमा पठाएको हो । सीमा विवाद समाधानको लागि चीन–भारत वार्ता जारी रहे पनि यसबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।

अक्टोबरको सुरुमा चीन र भारतीय सेनाका कमाण्डरको नयाँ चरणको बैठक बसे पनि दुवै पक्षले आ–आफ्नो अडानमा बसेका थिए । यस्तोमा जाडोयाममा पनि यो विवाद साम्य हुने सम्भावना कम छ । जाडोयाममा सीमावर्ती क्षेत्रमा पुग्न कठिन हुने भएकाले दुवै मुलुकका सेनाले अहिलेदेखि नै आवश्यक सामग्री पुर्‍याउन सुरु गरेका छन् ।

पछिल्लो केही महिनामा दुवै मुलुकका सेनाले सीमा सुरक्षा बलियो पार्न लामो तथा छोटो दूरीका हतियारको व्यवस्था गर्न सुरु गरेका छन् । चीनले आफ्नो पश्चिमी सीमाको पनि उच्च स्थानमा पनि लामो दूरीका रकेट लन्चर पठाएको छ । गत अप्रिलमा चीनले सिन्चियाङ प्रान्तमा अहिलेको भन्दा शक्तिशाली रकेट लन्चर पठाएको चिनियाँ सरकारी टेलिभिजन सिसिटीभीले बताएको थियो ।

विशेषज्ञहरुका अनुसार चीनको लागि सीमा क्षेत्रमा अहिले पनि हतियारको कुनै समस्या नभए पनि जाडो याममा मौसम सबैभन्दा ठूलो समस्या हुने भएकाले चीनले अहिले नै आफ्नो तयारी थालेको हो ।

तपाईको प्रतिक्रिया