शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – भारतको केरला स्टेटमा अर्को हप्ता अदालतले कोभिड-१९ को खोप कार्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर राखेको गुनासो गरेका नागरिकको मुद्दाबारे सुनुवाइ गर्ने भएको छ । पीटर एमका नामले चिनिने ती व्यक्तिले मोदीको तस्बिर नभएको नयाँ कोभिड खोप सर्टिफिकेट पाउन माग गरेका हुन् ।

६२ वर्षीय पिटरले खोप कार्डमा आफ्नो तस्बिर राखेर मोदीले नागरिकहरुको निजी जीवनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएका छन् । त्यसैले यसलाई असंवैधानिक ठहर गर्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाउन चाहेको बताएका हुन् । बीबीसीसँगको कुराकानीमा उनले यस किसिमको व्यवहार ‘शर्मनाक’ भएको पनि बताए ।

भारतीय स्वास्थ्य मन्त्रालयले जारी गर्ने कोभिड खोपको सर्टिफिकेटमा व्यक्तिगत जानकारीका साथै मोदीको तस्बिर पनि राखिएको हुन्छ र अङ्ग्रेजी अनि स्थानीय भाषामा दुई वटा सन्देश छापिएको हुन्छ ।

गत अगस्टमा स्वास्थ्य मन्त्री भारती पर्विन पवारले सो तस्बिर र त्यसको तल लेखिएको सन्देश ठूलो स्तरमा जन हितका लागि रहेको बताएका थिए । खोप लगाइसकेपछि पनि सबैलाई सावधानी अपनाइरहन अनि उपयुक्त व्यवहार देखाउन प्रोत्साहन गर्नका लागि त्यस्तो गरिएको उनको भनाइ छ ।

तर पिटरका अनुसार खोप लगाइसकेका नागरिकहरुले पहिले नै यसको उपयोगीताबारे विश्वास गरिसकेको हुँदा उक्त सन्देशको कुनै अर्थ नभएको तर्क गरेका छन् । उनले भनेका हुन्, ‘मोदी भारतका पहिलो प्रधानमन्त्री होइनन् न यो भारतको पहिलो खोप अभियान कार्यक्रम पनि होइन । तर कोभिड–१९ सम्बन्धी खोप अभियानलाई एकल मानव कार्यक्रमका रुपमा प्रचार गरिएको छ । यो प्रधानमन्त्रीका लागि प्रोपागान्डा फैलाउने साधन बनेको छ ।’

नीजी अस्पतालमा आफैले पैसा तिरेर खोप लगाउनु परेको हुनाले पनि पिटर यस मामिलामा आक्रोशित बनेका हुन् । सरकारी अस्पतालले प्रदान गर्ने निःशुल्क खोप लगाउन अत्यन्तै लामो लाइन बस्नु पर्ने भएकाले उनले निजी अस्पतालमा आफ्नै खर्चमा सुइ लगाउनु परेको थियो ।

उनले सोधेका छन्, ‘प्रत्येक डोजका लागि मैले ७५० भारु तिरेको छु । अनि मेरो खोप कार्डमा मोदीको तस्बिर किन हुनुप¥यो ?’ केरलाको सर्वोच्च अदालतले प्रदेश सरकारलाई यस मुद्दामा प्रतिक्रिया दिन दुई हप्ताको समय दिएको छ । मोदीका प्रवक्ताले भने यसबारे बयान दिन अस्वीकार गरेका छन् ।

खोपको सर्टिफिकेटमा प्रधानमन्त्रीको तस्बिर राखेकामा विपक्षीहरुले पनि भारी आलोचना गरेका छन् । यसअघि कतिले त मोदीको सट्टा आफ्नै मुख्य मन्त्रीको तस्बिर राख्ने कुरा पनि निकालेका थिए । त्यस्तै कंग्रेस नेतृ प्रियंका गान्धीले पनि मोदीलाई खोपका नाममा आफ्नो व्यक्तिगत प्रचार गरिरहेको आरोप लगाएकी हुन् ।

यता वेस्ट बेंगालकी मुख्यमन्त्री ममता बेनर्जीले चाहिँ मोदीलाई कोभिड मृत्युको सर्टिफिकेटमा पनि आफ्नो तस्बिर राख्न भनेर व्यंग्यात्मक शैलीमा प्रहार गरेकी हुन् । साथै कोभिड कार्डमा मोदीको तस्बिरले विदेश भ्रमणमा जाँदा पनि द्विविधा निम्त्याएको पाइएको छ । मोदीको तस्बिरसँग अपरिचित ‘इमिग्रेसन’ का अधिकारीहरुले यात्रुलाई नक्कली कार्डको आरोप लगाएको समेत खबर गरिएको छ ।

यस्तोमा पिटरले मोदीको तस्बिर नहुनु पर्ने ठाउँहरुमा पनि धेरै प्रयोग गरिरहेको भनि निन्दा गरेका हुन् । तर मोदी चाहिँ तस्बिर खिच्ने अनि सेल्फीका प्रेमी भएको सबैलाई थाहा छ । सामाजिक संजालमा उनका अत्यन्तै धेरै फलोअर छन् ।

भारतमा लामो समय अगाडिदेखि नै राजनीतिक नेताहरुले आफूलाई महान तुल्याउने चलन रहेको पाइन्छ । यसअघि गान्धी–नेहरु वंशले आफ्नो कार्यकालमा सयौँ विमानस्थल, युनिभर्सिटी, अवार्ड, सेवा सुविधाका कार्यक्रमहरुलाई आफ्नो परिवारको नाम दिएकामा आलोचित हुनुपरेको थियो ।

उत्तर प्रदेशका पूर्व मुख्य मन्त्री मायावती पनि आफ्नो मूर्ति बनाउनका लागि प्रख्यात छिन् जसले अनुपयुक्त चलन प्रोत्साहन गरेको आरोप लगाइएको थियो । यता तामिल नाडुकी स्वर्गीय मन्त्री जयराम जयललिताले पनि सस्ता क्यान्टिनदेखि फार्मेसी र नुनका प्याकेटमा समेत आफ्नो तस्बिर राख्ने गर्दथिन् ।

तपाईको प्रतिक्रिया