बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडाैं – स्पेनको ला पाल्मा टापुस्थित अहिले फुटिरहेको अर्थात् सक्रिय ज्वालामुखीबाट बहेको लाभा अहिले एटलान्टिक महासागरमा पुगेको छ । त्यसले विषाक्त ग्यास उत्सर्जन हुने र विस्फोट हुने त्रास पैदा भएको छ ।

प्लाया नुएभा क्षेत्रमा महासागरको पानीमा रातो लाभा मिसिँदा बाफको बादलजस्तो आकारको मुस्लो माथि गइरहेको देखिएको छ । यसले रासायनिक प्रतिक्रिया हुनसक्छ । त्यसमा क्लोरिन हुने भएकाले वरपरका मानिसमा छाला र आँखा चिलाउन सक्ने र श्वास प्रश्वासमा समस्या आउन सक्ने बताइएको छ ।

सेप्टेम्बर १९ मा उक्त ज्वालामुखी फुटेपछि सयौँ घरहरू ध्वस्त भएका छन् । लाभाले घरहरू, स्कुलहरू र केरा घारीहरू ध्वस्त बनाएपछि करिब छ हजार मानिसलाई उद्धार गरिएको छ । लाभा स्थानीय समय अनुसार मङ्गलवार ढिलो गरी महासागरमा पुगेको केनरी आइल्यान्ड्स भोल्क्यानिक इन्स्टिच्यूट इन्भोल्क्यानले ट्वीट गर्दै जनाएको छ ।

समुन्द्र तटको केही क्षेत्र ध्वस्त हुने र त्यसले विस्फोटन पनि निम्त्याउन सक्ने त्रास छ । तीनवटा तटीय गाउँहरूमा लाभाले स्थानीय पानीका स्रोत प्रदूषित पारिदिएको आशङ्कामा लकडाउन गरिएको छ । स्पेनका अधिकारीहरूले सुदूर उत्तरी टापुमा ला पाल्मामा ज्वालामुखी विस्फोट भएपछि त्यसलाई प्राकृतिक प्रकोप क्षेत्र घोषणा गर्दै प्रभावित सबैलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन् ।

तपाईको प्रतिक्रिया