सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

कोशीमा अहिले नेपाली कांग्रेको नेतृत्वमा सरकार छ । मुख्यमन्त्रीको जिम्मेवारी भने केदार कार्कीले सम्हालेका छन् । मुख्यमन्त्री कार्कीले अल्पमतमा परेको यतिका दिन बितिसक्दापनि राजीनामा पनि नदिएको र विश्वासको मत पनि नलिएको भन्दै आलोचना हुँदै आएको थियो । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीले विश्वासको मत नलिई ३० दिन गुजारेकाले सरकार रिक्तताको अवस्था रहेको भन्दै नयाँ सरकार गठन आह्वान गर्न माग गरेका थिए ।

प्रदेश प्रमुख खापुङले यस विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय पनि माग गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले राय पठाएपछि राति ११ बजे नयाँ सरकार गठन आह्वान गरिएको हो । यसअघि अहिलेका मुख्यमन्त्री कार्कीले पनि यही संवैधानिक धाराअनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

 

तपाईको प्रतिक्रिया