सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडाैं – हिमाली जिल्ला मुस्ताङमा तोकिएको उमेर समूहका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई काेराेना भाइरस विरुद्धको खोप लगाइएको छ ।

उमेर समूहका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएसँगै मुस्ताङ पूर्ण खोप लगाउने दोस्रो जिल्ला बनेको छ । यसअघि, छिमेकी मनाङका १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाएसँगै पहिलो जिल्ला बनेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मुस्ताङमा १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । बाहिरी जिल्लाबाट विभिन्न कामका लागि त्यहाँ रहेका थप २१३ जनासहित मुस्ताङमा ९ हजार ५१३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मुस्ताङमा ६ हजार ७२१ जनाले जोनसन एन्ड जोनसनको खोप, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज र २ हजार ४७२ जनाले कोभिसिल्ड खोपको पूर्ण डोज लगाएका कार्यालयले जनाएको छ । मुस्ताङमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो ।यस्तै मनाङ १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाउने पहिलो जिल्ला बनेको छ । गत असार १ गतेबाट सुरु भएको वर्षा र बाढीले सडक सञ्जालबाट मनाङलाई अलग बनाए पनि हेलिकप्टरबाट ढुवानी गरेर खोप लगाउन योग्य सबै ४,१९८ नागरिकलाई खोप दिइएको जानकारी स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले दिए ।

मनाङको कुल जनसङ्ख्या ६,२०० छ। खोप लगाउन योग्य ४,५०० अनुमान गरिएकोमा केही जिल्लाबाहिर भएका कारण छुटेको बताइएको छ । मनाङका चारवटै गाउँपालिकाका २८ वटा वडामा खोप केन्द्रको व्यवस्था गरिएको अधिकारीहरूको भनाइ छ । सबैभन्दा पहिले उक्त जिल्लामा पुगेको कोभिशील्ड खोप २,०९६ जना, जोनसन एन्ड जोनसन खोप २,०२७ जना र भेरो सेल ७५ जनाले लगाएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया