नेपालीका लागि नेपालीः खोई व्यवहारमा ?

जापान आएकै भोलिपल्ट धर्मराज अधिकारी सेन्सेई (शिक्षक) ले भन्नुभयो–‘भाइहरु अब एनआरएनएको अभियानमा पनि जोडिनुपर्छ ।’ मैले सोधें–‘यो एनआरएनए भनेको के हो सेन्सेई ?’ उहाँले एनआरएनएको छोटकरी परिभाषासहित केही जानकारी दिनुभयो । हामीले खुशीसाथ सहमतिको टाउको हल्लायौं । एक अर्थमा हामी खुशी पनि भयौं किनकि विदेशमा के पर्छ के पर्छ । भोलि आपतविपत पर्दा सहयोग पाईन्छ भने हामीले पनि सकेको सहयोग गर्नुपर्दछ । धेरथोर संस्थाप्रिति आस्था जागेको भनेको त्यही बेला हो । त्यसपछि जापानमै कयौं हिउँद वर्खाहरु विते तर भर्खरै पलाउला भन्ने लागेको यो संस्थाप्रतिको आस्था त्यसै हराएर गयो । सायद जापानको आफ्नै व्यस्त दैनिकी अनि नानाथरीका तानावानाले नै होला भन्ने लाग्छ । त्यसो त समाजसेवा भनेको लिने होईन, दिने हो भन्ने मान्यतामा हुर्किएको म आफै सक्षम नभई समाजसेवा गर्छु भनेर बुर्कुसी मार्नु बेकार हो भन्ने पनि लाग्यो । हुन पनि त्यही सत्य हो । तर यहाँ संस्थामा जाने भनेको दिन होईन लिन रहेछ । यो हालैका दिनमा भएका एनआरएनका केही काण्डले प्रमाणित गरिसकेको छ ।
अहिले जापानको एनआरएनएमा चुनावी गर्मी बढेको छ । कोरोना कहरको बेला पनि भेटघाट बाक्लिन थालेका छन् । समाजसेवा गर्न आतूर मनहरु आ–आफ्नै मनोगढन्ते सपनाहरु बुनेर आफूलाई समाजसेवीको अब्बल दर्जामा उभ्याउन हस्याङफस्याङ गरिरहेका छन् । घोषणापत्र भनेर लेखिएका योजनाहरु हेर्ने हो भने अब जापानमा कसैले दुःखै पाउँदैनन् । उम्मेदवारहरुले जादूको छडी लिएर मैदानमा उत्रिसकेका छन् । उक्त छडीको मद्दतले जापानमा रहेका नेपालीहरुको सम्पूर्ण समस्याहरु क्षणभरमै हल हुन्छ । उम्मेदवारहरु कसैले सदस्यताका कुरा उठाएका छन् । कसैले आर्थिक पारदर्शिताका कुरा उठाएका छन् । कसैले जापानमा रहेका नेपालीको उन्नति प्रगतिको कुरा उठाएका छन् । उम्मेदवारहरुले उठाएका नाजायज कुरा केही पनि छैनन् । हरेक कुरा उत्तिकै महत्वपूर्ण छन् । हुन त अघिल्ला चुनावमा पनि यही आश्वासन बाँडिएको थियो । र कयौं वर्षहरु यही नै मुख्य योजनामा परिरहन्छन् । समग्रमा संस्थाले समाजमा कत्तिको विश्वास जितेको छ भन्ने कुरा यसको सदस्यता संख्याले थाहा हुन्छ । ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएको एनआरएनको सदस्यता बन्ने लहर चालिनुपर्छ । हरेकमा यसप्रतिको स्वातःस्फूर्त आस्था जाग्नुपर्छ । आत्मियता बढ्नुपर्छ । तर खोई त्यो ? जापानबासी नेपालीको कूल संख्याको १० प्रतिशतले पनि मुस्किलले सदस्यता लिएका छन् । अर्कोकुरा सदस्य बन्नको लागि हरेक दुई वर्षमा चुनाव नजिकिन पर्छ । एउटा संस्थाको सदस्यता बन्न कुनै विशेष चुनावी चाडवाड अथवा माहौलको समयमा मात्र नभई इच्छा लागेको व्यक्तिले जतिवेला पनि सदस्यता लिन सक्ने बातावरण नबनाए सम्पूर्ण नेपालीका लागि भनेर कुर्लनुको कुनै तुक छैन । हतारै हतारमा चुनाव नजिकिंदै गर्दा सदस्यताको लागि भर्ति खोल्ने अनि त्यसैमाथि अन्तिम अन्तिममा आएर सदस्यता फारम भरेकाहरु पनि विविध प्राविधिक कमजोरीको कारण सदस्य बन्नबाट बन्चित भईरहेका छन् । त्यसो त अहिले अझ अचम्मको कुरा त के छ भने मतदाताहरूले सुँइको नपाउने गरी १७ सय बढीको इमेल र फोन नम्बर परिवर्तन गरिएको छ । जसको कारणले गर्दा नै तोकिएको दिनमा चुनाव हुन सकेन । वास्तवमा भन्ने हो भने मतदाताहरूको व्यक्तिगत सूचना सुरक्षित छ भन्ने कुरामा नै शंका गर्ने ठाउँहरू धेरै भए । संस्थाको लेखाफाँट चुस्तदुरूस्त राख्ने जिम्मेवारी पाएका व्यक्तिको पनि पहिलो नम्बरमै इमेल र फोन नम्बर फेरियो ।  अब अरूले विश्वास गर्ने ठाउँ कहाँनेरी रह्यो ? व्यक्तिगत सम्पर्कको लागि भनेर इमेल र फोन नम्बर सदस्यहरूबाट लिएको संस्थाले समयमा चुनाव हुन सकेन भनेर मतदाताहरूलाई इमेल तथा फोन मार्फत जानकारी गराउन पर्छ कि पर्दैन ?
विभिन्न देशमा भएका साधारण सभाहरूमा पाखुरा सुर्किने, हानाहान गर्ने, मतपत्र च्यात्ने लगायतका घिनलाग्दो काम गरेका भिडियोहरू सामाजिक संजाल छरपष्ट भएका छन् ।  जापानमा हालसालै चुनावी माहौल गरमागरम बनाएको भनेकोे आर्थिक पारदर्शिताको विषयले हो ।  र, मान्छे चुक्ने भनेको पनि यही मामलामा हो । आर्थिक मामलामा धेरैथोरै अनियमितता भएको कुरा नौलो होइन । किनभने हाम्रो धरातल त्यही नै हो । विदेशमा रहेर पनि राजनैतिक विचारधारा, भेगिय निकटताको आधारमा घरको र परको सोच्ने प्रवृत्ति हाम्रो खान्दानी प्रवृत्ति हो । यही प्रवृत्तिमा टेकेर हामी आफ्नो र अर्का खुट्याउँछौं । को कति नजिकको भनेर भेउ पाउने यही मन्त्र हाम्रो लागि गायत्री मन्त्र सरह छ ।
हुन त घरदेशमा आपतविपत पर्दा परदेशमा रहेका हामीहरु साँच्चै नै भावनामा वहकिएर हातमा हात मिलाएका विगत पनि थुप्रै छन् । तर त्यही मौकाको फाइदा उठाएर आफ्नो दूनो सोझ्याउनेहरु अहिले एनआरएनएका सतिसाल भएर ठडिएका छन् । सबैले भरोसा गरेको संस्थाको गतिविधी यसरी उत्तानो भयो कि जुन आची गर्नेलाई भन्दा देख्नेलाई लाज भईरहेको छ ।
सहयोगको भावनाले थोपाथोपा गरी उठाइएका यी ‘विग मनी’ साँच्चै कहाँ प्रयोग भयो त ? के सम्बन्धित ठाउँमा सही सलामत पुग्यो ? शंकाको गन्ध आईरहेको छ । थाहा पाउनेहरु तैं चुप मै चुप गरेका छन् भने थाहा नपाउनेहरुले धरमरमै जिब्रो काटिरहेका छन् । एनआरएनएकै एक पूर्व अध्यक्षले सार्वजनिक रुपमै प्रश्न गरेका छन्–‘भूकम्पको बेला उठाएका रकम कहाँ, कति र कुन रुट भएर गयो ?’ अभियानमा जोडिएर अध्यक्ष बनेर एकसमय वागडोर सम्हालेका पूर्व अध्यक्षलाई नै थाहा नभएको कुरा १ हजार तिरेर चुनावमा भोट हाल्न सदस्य बनेका खेताले सदस्यलाई थाहा हुने कुरै भएन । काठमाडौमा भएको एनआरएनएको अधिवेशनमा जाने प्लेट टिकट अनि तारे होटलको खर्च तिर्न त्यही भूकम्प राहतको पैसा प्रयोगमा आएको भनेर पनि बजार हल्ला छ । हल्ला कति सत्य हो सम्बन्धितहरुलाई नै थाहा होला । यदि त्यो सत्य हो भने आर्थिक पारदर्शिताको नारा फलाक्नेहरुले यसको चित्तवुझ्ने गरी उत्तर दिनु पर्छ कि पर्दैन ? सामुहिकरुपमा अभियान चलाएर उठाइएको रकममा मात्र नभई साधारण एक गरीवको छोराछोरी सुदूर भविष्यको सपना बुनेर जापानमा काम गर्दै गर्दा दुर्घटनामा परी मृत्यु भएपछि कानूनी रुपमा पाईने पैसामा समेत चलखेल गर्न भ्याए । यतिमात्र नभएर अन्य विषयमा पनि आर्थिक अनियमितता भएको भनेर छानविन समितिले नै घुमाउरो पाराले तोकिसकेपछि पनि स्पष्टिकरण दिने नाममा पत्रकार सम्मेलनको भाउँतो बुनेर अल्मल्याउने काम भयो । यदि गल्ती भएकै हो भने दोषीलाई कारवाही गर्नुपर्छ कि पर्दैन ? आर्थिक अनियमितता भएको हो भन्ने छानविन समितिको निर्णय आईसक्दा पनि कारवाहीको लागि एक कदम चाल्न नसक्नु संस्थाकै लागि दुखदायी र साधारण सदस्यहरुको विश्वास गुमाउनु भन्दा अरु उपलब्धी केही छैन । आङ्गको लुगा च्यातेर लाज छोप्न आँखा चिम्म गरेको नाटक भन्दा अरु बढी के होला?
एनआरएनएप्रतिको नाम सुन्नासाथ ओठ लेब्य्राउनेहरु बढेर गएका छन् । हुनेखानेको मात्र संस्था हो भन्ने छाप परेको छ । वास्तवमै दुःखपीडा मर्कामा परेका, हेपिएका र चेपिएकाहरुको लागि केही पनि गर्न नसकेको सबैले महसुस गरेकै कुरा हो । टाइकोटमा ठाँटिएर कार्यक्रमहरुमा जाने, दुईचार पैसा सहयोग गर्ने, मञ्चमा खादा लगाएर ढस्समस्स भएर बस्ने अनि साँझमा भट्टीतिर जम्मा भएर ठूलाठूला गफ हान्नेहरु नै यसका अगुवा भनाउँदाहरु हुन् । सफल व्यवसायी र समाजसेवीका पगरी गुथेर आफ्नै कम्पनी अथवा पसलमा काम गर्नेलाई हप्तामा आधा दिन मात्र विदा दिने, निम्न तहको तलव सुविधा दिएर श्रम शोषण गर्ने, कोरोनाको कारण व्यापार घाटा भयो भनेर कर्मचारीको छुट्टी बढाउने अनि त्यही छुट्टीको कारण तलव घटाउने, तलव घटेवापत नियम अनुसार कर्मचारीले पाउने ८० प्रतिशत सरकारी रकम निकालेर आफैले कुम्ल्याउने सफल व्यवसायीहरु सस्तै छन् । कसरी भए तिनीहरु नेपालीका लागि नेपाली ?
दिनरात मेहनत गरेर जीवन गुजार्न हम्मे हम्मे छ जापानमा । साँच्चिकै व्यवसायमा खटिएकाहरु कर्मचारीको तलव, पानी विजुली ग्याँसको महसुल, व्यवसायिक कर लगायतका तिरोभारेले टाउको उठाउन नसकेको वेदना पोखिरहेको अवस्थामा कथित समाजसेवीहरु देशविदेशमा हुने सभासम्मेलन र भोजभतेरमा सरीक हुन, मन फुकाएर सहयोग गर्न कहाँबाट आउँछ पैसा ? धेरैले भन्ने गरेका एउटा सिद्धान्त नै छ –‘कसैलाई टाउकोमा नटेकि माथि उक्लिन सकिन्न ।’ वास्तविकता यही नै हो । निर्धालाई च्यापेर मर्द बन्नेहरुले एक पटक आफैले आफ्नै कसम खाएर छाति माथि हात राखेर भन्नु,–‘म विना लोभलालचको निस्वार्थ समाजसेवा गर्छु भनेर, सकिन्छ ?’ बाहिरी पत्रमा म यस्तो र म उस्तो भनेर उम्मेदवारी घोषणा गरिरहँदा उहाँले मलाई यसरी अन्याय गर्नुभयो भनेर भित्री पत्रमा थुप्रै गुनासोहरु पनि आउने गरेका छन् । यसपटक पनि आउने पक्का छ ।
निश्वार्थ समाजसेवा गर्न मनै भए साँच्चै अन्यायमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्य लिएर आउनुपर्छ । बोल्न नसकेकाहरुको आवाज बनेर निस्कन सक्नुपर्छ । सुन्न नसक्नेहरुका साटो सुनिदिनुपर्छ । तल्लो तहका जनमानसको मन जित्न पर्छ । जापानबासी सबै नेपालीलाई सदस्य बनाएर दीर्घकालीन रुपमा नेपाल र नेपालीको भलाईको लागि काम गर्न सक्नुपर्छ नत्र भने कसरी बन्न सक्छ नेपालीको लागि नेपाली नाराको सार्थकता ? अनि कसरी बन्न सक्छ हाम्रो एनआरएन, राम्रो एनआरएनए ? र कसरी बन्न सक्छ धनको होईन मनको एनआरएनए ? नेपालीका लागि नेपालीः खोई व्यवहारमा?

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित