शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं — बोल्सोनारू र उनको सरकार कोरोनाभाइरसको महामारीलाई सम्बोधन गर्न चुकेको भन्दै ब्रजिलका सहरहरूमा प्रदर्शनहरू भइरहेका छन्।

दशौँ हजार मानिसहरू सहभागी भइरहेका ती प्रदर्शनमा खोप कार्यक्रमलाई गति दिन र समाजका अति विपन्न वर्गलाई आर्थिक सहयोग उपलब्ध गराउन भनिएको छ।

सा‌ओ पाउलो, रिओ द जेनेरो सहित लगभग एक सय सहरमा भएका प्रदर्शनमा राष्ट्रपति बोल्सोनारूविरूद्ध महाभियोगको प्रक्रिया थाल्न पनि माग गरिएको छ।

पछिल्ला प्रदर्शन स्वास्थ्य मन्त्रालयले दशौँ लाख खोप खरिद अघि बढाउँदा भ्रष्टाचार भएका आरोपहरू बाहिर आएपछि शुरू भएको हो।

राष्ट्रपति बोल्सोनारूले निरन्तर कोभिड-१९ को सङ्क्रमणको गम्भीरतालाई कम आँकेका विवरणहरू आएका थिए।

सङ्गठित रूपमा कोभिड प्रतिकार्य कार्यक्रम अघि नबढाएको एवम् खोप, लकडाउन र मास्क लगाउनुपर्ने जस्ता अत्यावश्यक सुरक्षा उपायहरूलाई खुकुलो बनाउने प्रयास गरेकाले उनको चर्को आलोचना भइरहेको छ।

स्वास्थ्य इन्स्टिच्युट फिओक्रुजले ब्रजिलको अवस्था चिन्ताजनक भन्दै त्यहाँ जम्मा ११ प्रतिशत वयस्कहरूले पूर्ण रूपमा खोप लगाएको जनाएको छ।

अघिल्लो महिनादेखि त्यहाँका कैयौँ सहरहरूमा रेस्टुराँ, बार र पसलहरू खुलेका थिए भने चोकहरूमा हिँड्दा धेरै मानिसहरूले मास्क लगाउने वा सामाजिक दूरी कायम गर्ने गरिरहेका छैनन्।

अघिल्लो महिना नै त्यहाँ कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको थियो। कोभिड-१९ का कारण ज्यान गुमाएको उक्त सङ्ख्या अमेरिकापछि सबैभन्दा उच्च हो।

तपाईको प्रतिक्रिया