काठमाडौं — सामाजिक सञ्जालबिना जोकोहीको जीवन अधुरो छ। साथी, आफन्त, सहकर्मी आदिसँग सम्पर्कमा रहन सामाजिक सञ्जालभन्दा सजिलो उपाय अरु केही छैन। दैनिक सूचना र समाचार सम्प्रेषणदेखि व्यापारसम्मका लागि सामाजिक सञ्जालको प्रयोग भएको पाइन्छ। सामाजिक सञ्जालको यस्तो उपयोगिताका कारण सन् २०१० देखि हरेक वर्ष जुन ३० लाई सामाजिक सञ्जाल दिवसका रूपमा मनाइँदै आइएको छ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लिंक्डइन आदि अहिलेका चर्चित सामाजिक सञ्जाल हुन्। यस्ता सञ्जालको सूची दिनानुदिन लामो हुँदै गइरहेको छ।
अर्कोतर्फ मानिसहरूले सामाजिक सञ्जालमा बिताउने समय पनि बढ्दो छ। तथ्यांक संकलन गर्ने वेबसाइट ‘स्टाटिस्टा’ का अनुसार सन् २०२० मा औसतमा एकजना मानिसले प्रतिदिन २ घन्टा २५ मिनेट समय सामाजिक सञ्जालमा बिताए। त्यस्तो समय सन् २०१२ मा डेढ घन्टा रहेको थियो। स्प्राउट सोसलका अनुसार १६ देखि २९ वर्ष उमेर समूहका मानिस दैनिक तीन घन्टासम्म सामाजिक सञ्जालमा बिताउँछन्।
अर्कोतर्फ ‘टेक्नोलाजी इन सोसाइटी’ जर्नलमा प्रकाशित फिल लंगस्ट्रीट र स्टोनी ब्रुक्सको अध्ययनका अनुसार संसारभर २१ करोड हाराहारी मानिसहरू सामाजिक सञ्जालको लतबाट ग्रसित छन्। तसर्थ बढ्दै गएको सामाजिक सञ्जालमा मानिसले बिताउने समयका पछाडि यस्ता सञ्जालको लागू प्रवृत्तिको भूमिका स्पष्ट छ।
बहुआयामिक उपयोगिता भएका सामाजिक सञ्जाल त्यति नै खतरनाक पनि छन्। कामकाज र दैनिक सम्पर्क सामाजिक सञ्जालका स्वस्थ प्रयोग हुन्। तर, केही मानिस कुनै ठोस प्रयोजन र उद्देश्य विना नै सामाजिक सञ्जालमा घन्टौँ बिताउँछन्।
सामाजिक सञ्जालले बढाइदिएको पहुँचले पनि आवश्यकताभन्दा बढी नै सम्पर्क मानिसहरूबीच हुने गरेको छ। न्युजफिड स्क्रोल गर्दागर्दै, साथीहरूसँग च्याट गर्दागर्दै र अपलोड गरेको फोटामा आएका कमेन्टमा धन्यवाद दिँदादिँदै मानिसलाई समय बितेको पत्तै हुँदैन। यो सामाजिक सञ्जालको लतको संकेत हो।
सामजिक सञ्जालको लतका कारण बेखुसी, आत्मसम्मानको कमी, चिन्ता, डिप्रेसन र अनिद्रा जस्ता समस्या देखापर्ने अनुसन्धानले पत्ता लगाएका छन्। सामाजिक सञ्जालका आलोचक यसको लतका कारण मानिस सामाजिकभन्दा पनि असामाजिक बन्दै गएको र समग्रमा त्यस्ता सञ्जालले सामाजको प्राकृतिक स्वरूपलाई विथोलेको बताउँछन्। त्यसो भए किन लाग्छ त सामाजिक सञ्जालको लत? सामाजिक सञ्जालको लतले ल्याउने समस्याको ज्ञानसँगै यो प्रश्न पनि जोडिएर आउँछ।
सामाजिक सञ्जालको लत लाग्नुको कारण र त्यस किसिमको लतले सिर्जना गर्ने समस्या दुवै मनोवैज्ञानिक विषय हुन्। त्यसैले यिनको व्याख्या मनोविज्ञानिक तवरले नै हुन सक्छ।
प्रथमतः सामाजिक सञ्जालको लत कुनै लागू पदार्थको लतभन्दा खासै फरक छैन। मानिसमा लागू पदार्थभन्दा पनि त्यसका कारण मस्तिष्कमा सिर्जना हुने डोपामिन नामक पदार्थका कारण लत लाग्ने गर्छ। डोपामिन खुसीको पदार्थ हो। यसले मानिसलाई आनन्दित महसुस गराउँछ। एक पटकको आनन्दले मानिस अघाउँदैन।
कुनै पनि कुराले डोपामिन दिन्छ भन्ने मस्तिष्कलाई ज्ञात भएपछि त्यसको माग भइरहन्छ। फेसबुक, इन्स्टाग्राम आदिमा फोटो पोस्ट गर्दा आउने लाइक र कमेन्टले मस्तिष्कलाई प्रफुल्ल बनाई डोपामिन सिर्जना गर्छ। त्यसपछि त्यो बारबार गर्न मन लाग्छ।
डार मेसी र उनका सहकर्मीले सन् २०१३ मा गरेको एक अध्ययनका अनुसार सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले मानिसलाई ‘सम्मानको अनुभूति’ गराउँछ।
न्युरोइमेजिङको अत्याधुनिक प्रविधीको प्रयोग गर्दा सम्मानको अनुभूति जस्ता कारकले मस्तिष्कको प्लेजर सेन्टर (आनन्द केन्द्र) मानिने न्युक्लियस एकुम्बेन्समा उल्लेख्य परिवर्तन आएको पाइएकाले अध्ययनले त्यस्तो निष्कर्ष निकालेको हो। फेसबुकमा भएको लाइक, कमेन्ट र सेयरजस्ता पक्षहरूले मानिसलाई सहजै सम्मानको अनुभूति दिन सक्छन्।
तपाईंले प्रयोग गर्ने सामाजिक सञ्जालमा तपाईँले त्यहाँ गर्ने गतिविधिको सम्पूर्ण लेखाजोखा हुन्छ। तपाईँका गतिविधिको तथ्यांकको प्रयोगबाट तपाईंलाई के मन पर्छ, के पर्दैन भन्ने सजिलै आँकलन गर्न सकिन्छ। सामाजिक सञ्जालहरूले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स) को प्रयोगबाट तपाईंको रुचि पहिचान गरी त्यसअनुसारकै सामग्री तपाईंसामु प्रस्तुत गर्दै जान्छन्।
अहिले सामाजिक सञ्जालमा सामग्रीको बाढी नै छ। कृत्रिम बुद्धिमत्ताले प्रयोगकर्तालाई आफ्नो रुचिअनुसारको सामग्री पस्कँदा सामग्रीहरूको समुद्रबाट माथि ल्याउन मद्दत गर्छ। तर, आफ्नो रुचिअनुसारको सामग्री आफू अगाडि आइरहँदा मस्तिष्कमा सिर्जना हुने डोपामिनले त्यसको प्रयोगको बानी बसाउने र प्रयोग बढ्दै जाने प्रबल सम्भावना पनि रहन्छ।
एकातर्फ सामाजिक सञ्जालको ‘सम्मानको अनुभूति’ दिने किसिमको ढाँचा र अर्कोतर्फ कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट रुचि अनुसारको सामग्रीको प्रस्तुतीले सिर्जना गर्ने डोपामिनले सामाजिक सञ्जाल चलाउनेका लागि काफी समय खर्च गर्ने वातावरण सिर्जना गर्छ।