मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाण्डाै – भारत र बेलायतले मानव तस्करीको जालोलाई तोड्नका लागि विशेष पहल गर्ने भएका छन्। बेलायती अधिकारीहरूले भारतीय प्रहरीसँगको सहकार्यमा मानव तस्करहरूको समूहलाई निस्तेज पार्नका लागि विशेष अप्रेसन सञ्चालन गर्ने भएको हो।

यससँगै अवैध आप्रवासनको समस्यालाई पनि समाधान गर्न दुवै मुलुक सहमत भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी बोरिस् जोनसनबिच भएको भर्चुअल संवादका क्रममा मानव तस्करी अहिलेको मूल समस्या भएको र यसको जाललाई तोड्नका लागि पहल गर्ने सहमति भएको हो।

दुवै मुलुकबिच २०३० रोडम्यापमा सहमति भएपछि अपराध, व्यापार, स्वास्थ्य, जलवायु परिवर्तन, आप्रवासन, शिक्षा, विज्ञान र रक्षा क्षेत्रमा काम गर्ने समझदारी भएको हो। सन् २०३० सम्म दुवै मुलुकले आपसी हित र विश्वव्यापी प्रभावका विषयमा पनि छलफल गरेका छन्।

युरोपियन युनियनबाट अलग भएको बेलायतले एसिया क्षेत्रमा आफ्नो व्यापारलाई बढाउन चाहिरहेको छ। यस्तो अवस्थामा बेलायतका लागि भारत नै उपयुक्त मुलुक भएका कारण बेलायतले यस्तो सहमति गरेको हो। यससँगै दुवै मुलुकहरूले विश्वभर बढ्दै गरेको चिनियाँ प्रभावलाई रोक्नका लागि पनि पहल गर्ने सहमति भएको छ।

दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई बृहत् रणनीतिक साझेदारीको आधारमा अघि बढाउने विषयमा पनि जोड दिएका छन्। यस रोडम्यापले आगामी १० वर्षमा नागरिक नागरिकबिचको सम्बन्ध र विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गहिरो र बलियो सम्बन्ध कायम हुनेसमेत जनाइएको छ।

बेलायती प्रधानमन्त्रीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, १० वर्षको अवधिमा दुवै मुलुकमा नागरिकबिचको सम्पर्क, आर्थिक, व्यापारिक, रक्षा तथा सुरक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्र थप बलियो हुनेछ र मुलुकहरूको सम्बन्ध गहिरो बन्दै जानेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस रोडम्यापलाई स्वागत गर्दै व्यापार सहकार्य थप वृद्धि हुने बताएका छन्। उनले ट्विटमार्फत भनेका छन्, “व्यापार साझेदारीलाई बढाउँदै लैजाने कुरालाई हामी स्वागत गर्दछौँ। सन् २०३० सम्म द्विपक्षीय व्यापार दुई गुणाले वृद्धि हुने अपेक्षा छ। स्वास्थ्य, प्रविधि, ऊर्जालगायतका थुप्रै नयाँ पहलहरूमा हामी सहमत भएका छौँ।”

बेलायतका प्रधानमन्त्री बोरिस् जोनसनले विश्वकै पुरानो प्रजातान्त्रिक मुलुक बेलायत र विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतबिच धेरै मूल्यमान्यताहरू समान भएकोसमेत बताएका छन्।

तपाईको प्रतिक्रिया