मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाण्डाै – इजरायली लडाकु विमानले पुन: बुधबार बिहान गाजा क्षेत्रमा बमबारी गरेका छन् । बमबारीमा परी कम्तिमा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने कैयौं आवासीय भवन ध्वस्त भएका छन् ।

बुधबार बिहानै गाजा पट्टीमा भएको बमबारीमा परी ४ जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मारिनेमा एक जना पत्रकार समेत रहेका छन् । समाचार अनुसार अल अक्सा भ्वाइस रेडियोका पत्रकार युसेफ अबु हुसेनले ज्यान गुमाएका हुन् ।

दश दिनदेखि गाजामा जारी युद्धमा हालसम्म २२० जना प्यलेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये ६३ जना बालबालिका रहेका छन् । त्यस्तै १५ सय जना प्यालेस्टिनी घाइते भएका छन् ।

प्यालेस्टाइनको लडाकु समूह हमासले प्रहार गरेका रकेट हमलामा परी इजरायलमा समेत मानवीय क्षति भएको छ । रकेट हमलामा परी हालसम्म २ बालबालिकासहित १२ जना इजरायलीको ज्यान गएको छ भने ३ सय घाइते भएका छन् ।

हिंसा बढ्दै दुबै पक्षमाथि युद्धविराम गर्न दबाब परिरहेको छ । संयुक्त राष्ट्रसंघसहित विभिन्न मुलुकले इजरायल र हमासलाई तत्काल युद्ध विराम गर्न भनेका छन् । तर हालसम्म युद्धविरामको कुनै संकेत देखिएको छैन ।

राष्ट्रसंघीय सुरक्षा परिषदमा संयुक्त प्रस्तावमार्फत् हिंसा अन्त्य गर्नका लागि भइरहेका प्रयासलाई अमेरिकाले असहयोग गरिरहेको छ । सार्वजनिक प्रस्तावले तनाव कम नहुने भन्दै हिंसा अन्त्यका लागि गरिएका प्रयासलाई समर्थन नगरेको अमेरिकाको भनाइ छ ।

यसैबीच फ्रान्सले युद्धविरामको नयाँ प्रस्तावबारे इजरायलका छिमेकी इजिप्ट र जोर्डनसँग छलफल गरिरहेको बताएको छ । सुरक्षा परिषदको अर्को स्थायी सदस्य चीनले समेत फ्रान्सेली प्रस्तावलाई समर्थन गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया