सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अहिले भारतमा देखिएको कोरोनाभाइरस महामारी र गत वर्ष पहिलोपटक भारतमा भेटिएको कोरोनाभाइरस भेरियन्ट अब विश्वका लागि चुनौति र चासो भएको बताएको छ ।

कोरोनाभाइरसको बी.१.६१७ म्युटेसन अरु भेरियन्टभन्दा सहजै एकअर्कामा संक्रमण हुने गरेको र यसबारे थप अध्ययन गर्नु पर्ने आवश्यकता रहेको स्वास्थ्य संगठनले जनाएको हो । अहिले यो भेरियन्ट विश्वका ३० भन्दा बढी देशमा देखिइसकिएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा भेटिएको जस्तै बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट पनि चुनौतिपूर्ण भएको स्वास्थ्य संगठनले जनाएको छ । गत वर्ष पहिलो पटक भारतमा देखिएको भेरियन्ट अहिले भारतको महामारीका लागि कति जिम्मेवार छ भन्ने विषयमा पनि डब्लूएचओले अध्ययन सुरु गरेको छ ।

भारतमा पछिल्ला केही दिन यता दैनिक ३ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यस्तै, सोमबार मात्र भारतमा ३ हजार ७ सय ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो अहिले भारतमा केहीअघिको भन्दा संख्या घटेको बताइएको छ । तर, कोरोनाभाइरसको जोखिम र समस्या भारतमा थप रहेको पनि बताइएको छ ।

भारतमा संक्रमितको संख्या बढ्नुमा पनि यही भेरियन्ट कारक हुन सक्ने अनुमान गरिएको छ । भारतमा अहिले अवस्था कस्तो छ भने संक्रमितहरुको उपचारका लागि अक्सिजन अभाव सबै ठाउँमा देखिएको छ । भारत सरकारले पनि यसअघि भारतमा भेटिएको भेरियन्ट र अहिले देखिएको कोरोनाको दोस्रो लहरमा सम्बन्ध हुन सक्ने सम्भावना रहेको तर यो पुष्टि भइनसकेको बताएको छ ।

तपाईको प्रतिक्रिया