काठमाडौं – नेपालमा कोरोनाको दोस्रो लहरले जोखिम ल्याउने संकेत देखिएको छ । भारतमा विकराल बनिसकेको कोरोनाको दोस्रो लहर नेपालमा पनि विस्तारै उकालो लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा भनाइ राख्दै सोमबार नेपालमा २६६ जना नयाँ संक्रमित भेटिएको बताएका छन् । उनका अनुसार ४५ सय ३६ पिसिआर परीक्षण गर्दा यतिका संक्रमित भेटिएको बताए ।
‘नेपालमा पनि भारतमा जस्तै कोरोनाको दोस्रो लहर विस्तारै उकालो लाग्न थालेको छ’, उनले भने, ‘सोमबार मात्रै ४ हजार ५३६ को पिसिआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भयो। यसले नेपालमा विस्तारै पोजेटिभ हुने अर्थात कोरोनाबाट संक्रमित हुने क्रम बढ्दैछ भन्ने पुष्टि गरेको छ ।’
उनका अनुसार सोमबारसम्म नेपालमा कोरोनाबाट ३०३२ जनाले ज्यान गुमाएको बताए । सोमबार मात्रै कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म २२ लाख ८५ हजार जनाको कोरोना परीक्षण भइसकेको त्रिपाठीले बताए । मन्त्री त्रिपाठीका अनुसार २ लाख ७८ हजार २ सय १० जना संक्रमित भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमित निको हुने दर ९८ प्रतिशत रहेको उनले बताए । त्रिपाठीले असारभित्रमा ६० लाख नेपालीलाई कोरोनाविरुद्धको खोप दिने योजना रहेको पनि जानकारी दिए । उनले आगामी जेठ र असारसम्म कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने पनि बताए ।