काठमाडौं – भारतमा कोरोना भाइरसको मामिला फेरि तीव्र गतिमा बढ्न थालेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६२ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् । केही दिन अघिसम्म ३० देखि ४० हजारबीचमा भेटिने गरेका संक्रमित अब दैनिक ६० हजार माथि पुग्न थालेका हुन् ।
कोरोना नियन्त्रणका लागि केन्द्र र राज्य सरकारले अनेक प्रयास गरिरहे पनि नियन्त्रण प्रयास असफल भइरहेको छ । पछिल्लो २४ घण्टामा ३० सय भन्दा धेरैले ज्यान गुमाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाभित्र ३१२ को ज्यान गएको हो ।
भारतमा कोरोनाले खतरनाक रुप लिँदै गर्दा त्यसको जोखिम नेपालतिर बढ्न थालेको छ । भारतमा लाखौँ नेपाली रोजगारीका क्रममा छन् । भारतमा कोरोना बढेपछि त्यहाँबाट हजारौँ नेपाली फेरि घर फर्किने अवस्था छ ।
यसका अलावा देशमा लगातार कयौँ दिनदेखि निको हुने बिरामीको संख्यामा पनि व्यापक कमी आएको छ । पछिल्लो २४ घण्टामा २८ हजार ७३९ बिरामी निको भएका छन् । अर्कातिर संक्रमित बिरामीको संख्या ६२ हजार माथि छ । अर्थात् नयाँ संक्रमितको आधा मात्रै बिरामी अहिले निको हुन थालेका छन् ।