शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

नागोया – चीनको वुहान राज्यबाट सुरु भएको कारोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वव्यापी रूपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । प्रत्येक देशले यसलाई फैलन नदिन प्रयत्न गरिरहेका छन् । जापानमा पनि यो भाईरस टाउको दुखाईको विषय बन्यो । जापानमा चीनको वुहानबाट २०२० जनवरी ६ मा फर्केका ३० बर्षीय जापानी युवालाई पहिलो पटक कोरोना संक्रमण भएको थियो । जापान सरकारले २०२० जनवरी १६ मा पहिलो केस सार्वजनिक गरेको थियो । यसलाई नियन्त्रण गर्न जापान सरकारले हर किसिमको प्रयास गर्दै आईरहेको छ । जापानले संक्रमण बढी फैलिएको क्षेत्रलाई संकटकाल समेत लगाएको छ । जसका कारण अरु जस्तै नेपाली समुदायले पनि सास्ती व्यहोर्नुपरेको छ । पछिल्लो तथ्याङ्क अर्थात सन् २०१९ मा जापानमा नेपालीहरुको कुल संख्या ९६ हजार ८ सय २४ जना पुगेको छ । त्यसमध्य डिपेन्डेन्ट (परिवारमा बस्ने भिषा) भिषामा २९ हजार ९ सय ९२ जना, विद्यार्थी भिषामा २९ हजार ४ सय १७ जना, स्किल्ड लेवर भिषा (कुक) १२ हजार ६ सय ७९ जना, स्किल टेक्नेसिएन र दोभाषे भिषामा १२ हजार २ सय ३ जना, स्थायी भिषामा करीव ५ हजार १ सय ११ जना, बिजनेश भिषामा करीव १ हजार ७ सयजना, परिक्षार्थी भिषामा ४ सय २१ जना र बाँकी अरु बिभिन्न भिषामा बसेका नेपालीहरुको संख्या करिब ५ हजार ३ सय १ जना छन् । त्यस बाहेक अबैध बसेकाहरुको यहाँ बिवरण उल्लेख छैन ।

जापानमा कोरोना संक्रमण फैलिएपछि जापान सरकारले बैधानिक रुपमा जापानमा बसेका सबै विदेशीहरुलाई जापानी नागरिक सरह प्रतिव्यक्ति एक लाख येन राहत स्वरुप उपलब्ध गराएको थियो । जसबाट जापानका रहेका नेपालीहरु पनि लाभान्वित भए । त्यसबाहेक कोरोनाका कारण समस्यामा परी तलव कम पाएकालाई २ लाख येन देखि सहुलियत ऋणमा रकम दिने ब्यवस्था मिलाइएको थियो । जापानमा अन्य ब्यवसायी सरह नेपाली ब्यवसायीहरुलाई पनि जापान सरकारले बिभिन्न राहत अनुदानका साथै सहुलियत कर्जा प्रवाह गर्दै आईरहेका छ ।

काम गुमेकाहरुलाई जापानको इम्रिग्रेशनले जुनसुकै क्षेत्रमा पनि पार्टटाईम काम गर्ने इजाजत दिएको छ । काम गर्ने अनुमति पाए पनि जापानमा व्यापक काम घटेको र भाषाको समस्याले काम पाउन भने गाह्रो छ । जापानको नागोयामा कुकमा काम गरिरहेका ठाकुर घिमिरेले रेष्टुरेन्ट नचलेछि पार्ट टाईम काम गर्ने अनुमति लिएको तर अहिलेसम्म काम नपाएको बताउँछन । कोरोनाका कारण डिपेन्डेन्ट भिषामा आएकी टोकियोमा श्रीमानसंग बस्दै आएकी सिर्जना बुढाथोकीको काम नहुंदा ३ महिनादेखि कोठामानै रहन परेको बताउँछिन । कोरोनाको कारण धेरै समस्या अझै नेपाली विद्यार्थीहरुलाई परेको छ । कोरोनाका कारण काम गर्ने समय घट्दा उनिहरुलाई समस्या परेको हो । कलेजलाई फि बुझाउन त परै जाओस् कोठा भाडा तिर्न समेत धौ-धौ परेको फुकुओकाकी सबिना पंगेनी बताँउछिन् । त्यस्तै विद्यार्थी भिषामा जापान आएर ओसाकामा वर्किङ भिषा बनाएका राजेश श्रेष्ठ अहिले बेरोजगार छन् । ’वर्किङ भिषा त पाएँ तर कोरोनाले अहिले काम गर्ने कम्पनी नै बन्द छ’- विचल्ली भयो, – ’उनि भन्छन् ।’

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार कोरोनाको कारण जापानमा अहिलेसम्म कुनै नेपालीले ज्यान गुमाउन परेको छैन । कोराना संक्रमण भई कोरोनालाई जितेका भण्डारीले आफ्नो संस्था एनआरएनएबाट कोरोनाका कारण विभिन्न समस्या भोगेका नेपालीहरुलाई यथासक्दो सहयोग र समन्वय गर्दै आएको बताए । पछिल्लो तथ्याङ्क अनुसार जापानमा कोरोना भाईरस संक्रमितको संख्या हालसम्म ४ लाख ४४ हजार नाघेको छ ।***

तपाईको प्रतिक्रिया