टोकियो – जापानको व्यावसायिक फुटबलमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी काजुयोशी मिउराले ५४ वर्षको उमेरमा समेत फुटबल खेल्ने भएका छन्। जापानको माथिल्लो डिभिजनको क्लब योकोहामा एफसीले एक वर्षको सम्झौता थप गरेसँगै लिजेन्ड खेलाडी काजुयोशी अझै मैदानमा रहने भएका हुन्।
२०२१ को जापानी लिग सुरु हुने एक दिन अघि २६ फेब्रुअरीमा काजुयोशी ५४ वर्षमा पुग्दैछन्। जापानी राष्ट्रिय टिमका पूर्वस्ट्राइकर काजुयोशी सन् २००५ मा योकोहामा एफसीमा आबद्ध भएका थिए। आउने सिजन क्लबमो उनको १७ औँ वर्ष हुनेछ।
सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोषबाट व्यावसायिक खेल जीवन सुरु गरेका काजुयोशीले १० भन्दा बढी क्लबबाट फुटबल खेलिसकेका छन्। उनले ब्राजिलका साथै इटाली, क्रोयसिया र अस्ट्रेलियामा समेत क्लब फुटबल खेलेका छन्।
सन् १९९० देखि २००० सम्म जापानको राष्ट्रिय टिमबाट उनले ८९ खेलमा ५५ गोलसमेत गरेका थिए। जे लिगमा २०१७ मा गोल गर्दा उनी ५० वर्ष १४ दिनका थिए। जुन लिगमा सबैभन्दा बढी उमेरका खेलाडीको गोलको कीर्तिमान हो।