टोकियो – दक्षिण अफ्रिका र फ्रान्सपछि जापानमा पनि नयाँ स्वरुपको कोरोनाभाइरसबाट संक्रमितहरु भेटिएका छन् । जापानमा पाँच जना यस्ता संक्रमित भेटिएका हुन् ।
नयाँ स्वरुपको कोरोनाभाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो । यो भाइरस अब संसारका अरु देशमा पनि फैलन थालेको छ । द गार्जियनका अनुसार जापानमा नयाँ प्रकारको कोरोनाबाट संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरु पछिल्लो हप्ता बेलायतबाट स्वदेश फर्किएका थिए ।
जापानको स्वास्थ्य विभागले उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिरहेको जनाइएको छ । त्यसपछि मात्र अन्यमा फैलिएको वा नफैलिएको पत्ता लाग्नेछ ।
सर्वप्रथम बेलायतमा फेला परेको कोरोनाको नयाँ स्वरुप त्यसपछि दक्षिण अफ्रिका र फ्रान्समा भेटिएको थियो । तर, दक्षिण अफ्रिकामा भेटिएको नयाँ स्वरुपको कोरोनाभाइरस बेलायतको भन्दा फरक रहेको बताइएको छ । उता फ्रान्समा भेटिएका संक्रमितलाई भने कुनै लक्षण थिएन ।