काठमाडौं – युभेन्टसका पोर्चिगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई फुटबल इतिहासकै ठूला प्रतिस्पर्धीको रुपमा लिइन्छ । रोनाल्डो सन् २००९मा इङ्लिस क्लब म्याचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिड पुगेपछि यी दुईबीचको प्रतिस्पर्धा उच्च विन्दुमा थियो ।
सन् २०१८ मा रोनाल्डो रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस लागेपछि यी दुईबीचको मैदानी प्रतिस्पर्धा भएको थिएन। मेसी र रोनाल्डोले करिब २ वर्षपछि गएराति एक-अर्काविरुद्ध प्रतिस्पर्धा गरे । गएराति च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टसको खेल भएको थियो। खेलपछि रोनाल्डोले मेसीबारे बोलेका थिए ।
रोनाल्डोले आफूले मेसीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् । गएरातिको खेलपछि सञ्चारकर्मीमाझ बोल्दै रोनाल्डोले मेसी र आफ्नो सम्बन्ध राम्रो रहेको बताएका हुन् । उक्त खेलमा रोनाल्डोको २ गोलको मद्दतमा युभेन्टसले बार्सिलोना माथि ३-०को प्रभावशाली जित निकालेको थियो । ‘मैले मेसीसँग सधैं सुमधुर सम्बन्ध कायम गरेँ, उनलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा हेरिनँ’ रोनाल्डोले भने ‘हामी दुवै टिमलाई कसरी राम्रो बनाउ सकिन्छ भन्नेमा नै ध्यान दिइरहेका हुन्छौँ ।’
‘हामी करिब १५ वर्ष देखि सँगै खेलिरहेका छौँ तर मैले सधैँ उनीसँग राम्रो व्यवहार गरेँ ।’ रोनाल्डोले थपे ‘हामीलाई थाहा छ मिडियामा हामीलाई प्रतिद्धन्दीको रुपमा देखाइन्छ तर हामीबीच राम्रो सम्बन्ध छ ।’ ‘अहिले बार्सिलोना खराब लयबाट गुज्रिरहेको छ तर उ बार्सिलोना नै हो ।’ रोनाल्डाले बताए ‘क्याम्प नाउमा खेल्न सधैँ मुस्किल हुने गर्छ । यो हाम्रो लागि कठिन मिसन थियो तर राम्रो खेलेकाले नै हामी सफल भयौं, यसैमा खुसी छौं ।’