आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

नेपाली जनतालाई ठूला ठूला सपना बाँडेर झण्डै दुईतिहाईको नजिक पुगेको इतिहासकै सर्बशक्तिमान वर्तमान सरकार एवं सत्तासिन पार्टीका महानायकहरु अहिले जग हँसाउने नाटक मञ्चनमा ब्यस्त देखिन्छन् । भ्रष्टाचारमा नेपालको नाम अन्तर्राष्ट्रिय रुपमै चरम बेइजतीको बिन्दुमा पुगेको ट्रान्सपरेन्सी इन्टरनेशनलले उदांगो बनाईसक्यो । कथनी र करनीमा कति अन्तर रहेछ भन्ने नेकपा नामको बोइङका पाइलटद्वयलाई अब त हेक्का हुनुपर्ने हो । शक्ति र सत्ताको दम्भले मैमत्ता हात्तीझैं सिंहदरबार, बालुवाटार र खुमलटारमा नेपालको राजनीति खुम्चिएको छ । बिधि, बिधान, पार्टी, पद्धती, अनुशासन तिनै छोटे महाराजहरुको कोटको गोजीमा थन्किएका छन् । कोभिड-१९ को महामारीले जनता ब्याकुल छन्, कुर्सीको झिनीझम्टामा उनीहरुको कुस्ती बडो बिचित्रको देखिन्छ । विचार, बहस, मन्थनलाई निषेध गर्दै आरोप-प्रत्यारोपको पत्रयुद्धको तमासा देखाईरहेका छन् । जहाँ समस्या हुन्छ, समाधान पनि त्यहि बिन्दुमै भेटिन्छ र खोजिनुपर्छ, यसको पहलकदमी मुल जिम्मेवारीमा हुनेले लिनुपर्नेमा त्यस्तो देखिएको छैन । घरभित्रको झगडालाई घरभित्रै छलफल र बहसबाट निरुपण गरिनुपर्नेमा इतिहासका तानाशाहहरुको झझल्को दिनेगरी सर्बेसर्बा शैली थोपर्न जो खोजिएको छ, यसलाई किमार्थ राम्रो संकेत मान्न सकिदैंन । नेपालको राजनीतिको कखरा मात्रै बुझेकाहरुका लागि अहिलेको स्थिति आउनुमा मुख्य दोषी को भन्ने घामजस्तै छर्लङ्गै छ । दुर्घटना हुनुअघि विवेक प्रयोग गर्ने काम निजहरुकै हो, जो सत्ताको ठेक्का लिएर कुर्सीमा बिराजमान छन् ।

देश दुनियाँमा मिलनबिन्दु नै चाहेको हो भने लचकताको पनि हद हुन्छ र पेलानको पनि हद हुन्छ, अति भए खति अवश्य हुन्छ । दुईचार थान टाउकाको जुंगाको लडाईमा नेपाली जनता अन्यायको जाँतोमा पिसिनु हुँदैन । इतिहासले सुम्पेको गौरवपूर्ण जिम्मेवारीबाट चुक्ने ऐतिहासिक भुल गरे भने निज पात्रहरु सँधैका लागि रछ्यानमा मिल्काईने छन् । देश बदल्ने र जनतालाई समृद्धिको लोकमा पुर्‍याउने भजन गाएर कहिलै नथाक्ने अहिलेका शासकहरुको नौ नाडी अब सबैले छामिसकेका छन्, उनीहरुको खोक्रो आश्वासन र उधारो बिकासे रटान सँधैभरि पत्याईदिनुपर्ने अवस्था अब रहेन । त्यसैले शासकहरुले अब कि त सुध्रिएर कर्म गर्नुपर्छ कि त मार्ग प्रशस्त गर्नुपर्छ । जनताको अनुहारमा खुशी ल्याउने केही त होस् । सँधैको घोटाला, प्रकरण, बबण्डर, गञ्जागोल, ढाकछोप, भरौटेहरुको भरणपोषण, नाताबाद, फरियाबादले अब देश चल्दैन । मुलुकलाई बन्धक बनाउने अधिकार कुनै महाराज र तानाशाहलाई छैन । नेपाली जनताले देश निर्बाधरुपले बिकासे राजमार्गमा अगाडि बढेको हेर्न चाहन्छन् । यस महान अभियानमा छद्म भेषमा प्रस्तुत भएर भाँजो हाल्ने यो वा त्यो नामको कुनै पनि धुन्धुकारीलाई छूट छैन । अहिलेसम्म गफैमा भुलेका र भुलाईएका नेपाली जनताले ढिलै भएपनि पात्र र प्रबृत्ति राम्रोसंग चिनिसकेका छन् । नेपालको संबिधानले ब्यवस्था गरेको सार्बभौम सत्ता सम्पन्न नेपाली जनता र नागरिक सर्बोच्चताको उपहास गर्दै मनपरितन्त्र लाद्न खोज्ने बिना श्रीपेचका महाराजहरुलाई बिस्तारै समयले ठेगान लगाउने अपेक्षा गर्न सकिन्छ । जुन क्रम संसारकै सर्बशक्तिमान राष्ट्र अमेरिकाबाट सुरु भईसकेको छ ।

देश हाँक्नेहरुमा लोभ, लालचरहित रहेको कसीद्वारा प्रमाणित हुनु आवश्यक छ । उनीहरुका वरिपरि घेरिएका भान्सेहरुको अनुहार पनि सोहीअनुरुपको सक्कल हुनु आवश्यक छ । वर्तमानमा यसो नहुनु दुर्भाग्य हो । योग्यता र क्षमतावान भन्दा आफ्नै भनिएकाहरुबाट मात्र घेरिएर बस्न रुचाउने शासक भएको देशका जनताले दुख पाएको इतिहासमा पढ्न पाईन्छ । जनताको नाममा राजनीति गर्दै चप्पल लगाएर राजधानी छिरेकाहरुको हिजोको विगत सबैले जानेबुझेकै छन् । उनीहरुको रवाफ हिजोका महाराजाहरुको भन्दा कुनै कमी छैन । शासकहरुलाई कवच सिकाउने जनताले हो । यसको उपयोग गर्ने अवसर भनेको निर्वाचन हो । नामको मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जपेर बस्ने अवस्था अब रहेन । झण्डै १८ प्रतिशत जनता साँझबिहानको चुल्हो बाल्न नसक्ने अवस्था भएको देशका शासकहरुका लागि मात्र समृद्धि ल्याउन नेपाली जनताले गणतन्त्र ल्याएका हैनन् । दुरदराजका विपन्न वर्गका लागि गणतन्त्र भनेको कुन चरोको नाम हो शासकहरुले प्रमाणित गरेर देखाउन सक्नुपर्छ । वास्तविकता मै गाउँ गाउँमै सिंहदरबारको झझल्को दिन सक्नुपर्छ, गफै मात्र लगाएर अब देश चल्दैन सरकार !

तपाईको प्रतिक्रिया