काठमाडौं – अर्जेन्टिना अहिले आफ्नो प्रिय खेलाडीको निधनले शोकमा छ । डिएगो अर्मान्डो म्याराडोनाको बुधवार राति मृत्यु भएपछि अर्जेन्टिनामा तीनदिनको शोक घोषणा गरिएको थियो । विश्वले नै म्याराडोनालाई महान् फुटबलरका रुपमा अहिले सम्झिरहेको छ ।
अर्जेन्टिनामा पनि ठाउँठाउँमा म्याराडोनालाई सम्झना श्रद्धाञ्जली सभा गरिएका छन् । यसबीच विश्व फुटबलका गोल्डेन ब्वाइ म्याराडोनाको पार्थिक शरीरलाई अन्तिमपटक हेर्न लाखौंको संख्यामा मानिसहरु अर्जेन्टिनाको सडकमा निस्किए । म्याराडोनाका प्रशंसकहरु सडकमा रुँदै गरेका तस्विरहरु समेत सार्वजनिक भए ।
राष्ट्रपति निवासमा म्याराडोनालाई राष्ट्रिय सम्मान दिन लगिँदै गर्दा प्रहरीसँग सर्वसाधरणको मुठभेड समेत हुन पुग्यो । भिड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा समेत प्रहार गरेको थियो । म्याराडोनाको पार्थिव शरीरलाई नीजि कार्यक्रमबीच आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।