काठमाडौँ – पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वल्र्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ । नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् ।
महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् ।
सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० बर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिईन् । नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् ।
१० दिन अगाडी मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए । मानन्धर पुरुष ४५ बर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए । यस्तै २२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टोसँग पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भईन् ।
सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिईन् । १९ देखि २१ बर्षको गल्र्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गो संग पराजित भएकी थिईन् ।
सत्कार घती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन् । मगर १० बर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ बर्ष एडभानसमा पराजित हुँदै कास्यमा सिमित भएका हुन् । २० देखि २१ नोभेम्बर संम्म संचालित च्याम्पियनसिपमा नेपाल सहित १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता अनलाईन मार्फत प्रदर्शन गरेका थिए ।