टोकियो – चिनियाँ सेयर बजारको बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) सन् २०१५ पछि पहिलोपटक १० लाख करोड डलरभन्दा बढी भएको छ । साथै चिनियाँ सेयरको प्रमुख इन्डेक्समा यो वर्ष विश्वका सबै प्रमुख बजारहरुको तुलनामा निकै उछाल आएको छ।
कोरोना महामारीको तीव्र नियन्त्रण गर्नु र बजारको सुस्ततालाई लयमा फर्काउनु आदि कारणले चिनियाँ सेयर बजारमा उछाल आएको जानकारहरु बताउँछन् । साउथ चाइना मर्निङ पोस्टको खबरअनुसार गत सोमबार संघाई र सेन्झेन एक्सचेन्जमा सूचीकृत सबै सेयरको कुल बजार पुँजीकरण १०.०४ लाख करोड डलर भएको छ ।
यसअघि केबल एकपटक सन् २०१५ जुनमा केही समयका लागि कुल बजार पुँजीकरण १०.०५ लाख करोड डलर भएको थियो । यद्यपि त्यतिखेर फेरि ३ महिनापछि कुल बजार पुँजीकरण घटेर आधाको हाराहारीमा झरेको थियो।
चीन अब अमेरिकापछि दोस्रो ठूलो सेयर बजार बनेको छ। अमेरिकाको सेयर बजारको कुल बजार पुँजीकरण ३८.३ लाख करोड डलर रहेको छ । यसपछि तेस्रो स्थानमा जापान र चौथो स्थानमा हङकङको सेयर बजार रहेका छन् ।