शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – चीन आधिकारिक रूपमा नास्तिक देश हो । विगत ४० वर्षयता त्यहाँ धार्मिक गतिविधि बढेको भएपनि चीनमा धर्मपालनमा धेरैथरी प्रतिबन्ध छन् ।

राज्यले पाँचवटा धर्मलाई मात्र मान्यता दिएको छ : ती हुन् बौद्धधर्म, क्याथोलिसिजम, प्रोटेस्टेन्टिजम, दाओइजम र इस्लाम । त्यसबाहेक सबै धर्मलाई क्रियाकलाप गर्न लगभग बन्देज लगाइएको छ । धार्मिक संगठनहरूले राज्यको स्वीकृति पाएका यी पाँच धर्ममध्ये एकमा दर्ता हुनुपर्छ ।

धेरैथरी प्रतिवेदनहरूले चीनमा धार्मिक मानिसहरूको संख्या बढिरहेको देखाएका छन् । शांघाईस्थित चाइना नर्मल विश्वविद्यालयले ४५ सय मानिसमाथि उनीहरूको धार्मिक मान्यताका सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धान अनुसार, ३१.४ प्रतिशत मानिसले कुनै न कुनै धर्म मान्ने बताए ।

दर्ता नगरेका धार्मिक मानिसहरूको संख्या बढेको छ । अन्डरग्राउन्ड हाउस चर्च र प्रतिबन्धित धार्मिक संगठकहरूमा आबद्ध धेरै मानिस भेटिन्छन् ।

सत्तारूढ कम्युनिस्ट पार्टी आधिकारिक रूपमा नास्तिक छ । यस दलले आफ्ना सदस्यहरूलाई धार्मिक मान्यता राख्न प्रतिबन्ध लगाएको छ । पार्टीका सदस्यहरू धार्मिक संगठनमा जोडिएको पाइएमा पार्टीबाट बर्खास्त हुन सक्छन् । पार्टीबाट रिटायर सदस्यले पनि कुनै धर्म मान्न पाउँदैनन् ।

धार्मिक आस्थाले वामपन्थी विचारधारा कमजोर हुने सरकारको मान्यता छ । पार्टी सदस्यहरूलाई मार्क्सवादी नास्तिक बन्न लगाइन्छ ।

व्यक्तिगत अनुभवमा धर्मको वृद्धिका सम्बन्धमा पार्टी चिन्तित छैन । तर धर्मलाई सामूहिक क्रियाकलापको रूपमा चाहिँ बढ्न सरकारले दिइरहेको छैन । धार्मिक संस्थाहरू पार्टीको आधिकारिकतामाथि प्रश्न उठाउन सक्छन् र आफ्ना लागि खतरा बन्न सक्छन् भन्ने उसको मान्यता छ ।

केही विद्वानहरूका अनुसार, चीनमा धर्मको प्रभाव सीमित छ र उसले सत्तालाई खासै चुनौती दिन सक्दैन ।

चीन सरकारले चिनियाँ मूल्यमान्यतालाई प्रोत्साहन गर्ने विचारधारा र विश्वासलाई प्रचार गर्ने गरेको छ, जस्तो कन्फ्युशियनिजम र बौद्ध धर्म ।

चीनमा मुसलमानहरूले अनेक किसिमका प्रतिबन्धको सामना गर्नुपर्छ । शिनजियाङ प्रान्तमा हिजाब लगाउन, दाह्री पाल्न र रमजानका बेलामा रोजा राख्न समेत मनाही गरिएको छ ।

सन् १९८० पछि चीनमा क्रिस्चियन धर्मका अनुयायीहरू संख्या निकै बढेको छ । सन् २०१० मा प्यु सेन्टरले गरेको अनुसन्धान अनुसार, चीनको जनसंख्याको पाँच प्रतिशतले क्रिस्चियन धर्म मान्छन् । तर सरकारले क्रिस्चियानिटीलाई प्रोत्साहन गर्दैन ।

सरकारले प्रसिद्ध पादरी झाङ शाओजीलाई भीड जम्मा पारेर कानून व्यवस्था बिगारेको भनी १२ वर्षको कारागार सजाय सुनाएको थियो । चीनमा क्रिस्चियनहरू पक्राउ पर्ने र सजाय भोग्ने घटना धेरै हुन्छन् ।

बौद्धधर्मप्रति भने चीन सहिष्णु छ । इस्लाम र क्रिस्चियनलाई भन्दा बौद्धलाई बढी छुट छ ।

चीनका राष्ट्रपति सी चिनफिङले सत्तामा आएपछि बौद्ध धर्मलाई प्रोत्साहित गरेका छन् । सीले सार्वजनिक रूपमै बौद्ध, कन्फ्युसियनिजम र दाओइजमबाट देशको नैतिक नियन्त्रण गर्न सकिने बताएका थिए ।

तपाईको प्रतिक्रिया