आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ६१ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ६१ लाख २१ हजार ७७७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख ३७ हजार ९४१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ५१ लाख २७ हजार ५९६ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १४ हजार २७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७६ लाख ८४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८ हजार ९२५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९३७ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ७५ हजार ४७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४९ लाख ६ हजार ८३३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ११ पुगेको छ ।

नेपालमा शनिबार देशभर गरी २ हजार १२० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ८४, ५०० नाघेको छ । कुल संक्रमितमध्ये अहिलेसम्म नेपालमा ६२,७४० जना निको भइसकेका छन् भने ५२८ सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया