बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

पर्सा- कोरोना विशेष अस्पतालले पनि भर्ना नगरेपछि पर्सामा एक गर्भवती कोरोना संक्रमित महिला घरमै बसेर उपचार गराउन बाध्य भएकी छन्।

वीरगञ्ज महानगरपालिका २४ रामगढवाकी २६ वर्षकी गर्भवती महिलालाई कोरोना विशेष अस्पतालले पनि भर्ना नगर्दा उनी अहिले घरमै बसेर उपचार गराउनु परेको छ।

शनिबार ज्वरो आएपछि उपचारको लागि आफूले नियमित जाँच गराउदै आएको सिता अस्पतालमा पुगेकी महिलाको श्वास प्रश्वासमा समेत समस्या रहेको देखिएपछि डाक्टर निलम चौरसियाले फिजिसियन डाक्टरसित जाँच गराउन सल्लाह दिइन्। त्यहाँबाट ती महिलालाई उनका आफन्तले वीरगञ्जकै एडभान्स अस्पतालमा लगेका थिए।

अस्पतालमा लगिएपछि नारायणी अस्पतालका समेत चिकित्सक रहेका डाक्टर उदय नारायण सिँहले उनको चेकजाँच गर्दा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएको पाएपछि उनलाई कोरोना परीक्षण गराउन सुझाएका थिए।

नारायणी अस्पतालमा गएर ती महिलाको कोरोना परीक्षण गरिएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जमै रहेको नेशनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना विशेष अस्पतालमा भर्ना गर्नको लागि गर्भवती महिलाका आफन्तले लिएर गए। तर, त्यहाँ पनि अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती महिलालाई उनका आफन्तहरुले घरमै ल्याएर राखेका छन्।

कोरोना बिशेष अस्पतालमा कोरोना स‌ंक्रमितहरुलाई भर्ना गरेर उपचार गरिन्छ भनेर थाहा पाएकोले त्यहाँ भर्ना गर्न लगे पनि गर्भवती बहिनीलाई भर्ना नै नगरी घर पठाई दिएको गर्भवती महिलाका दाइ नरेश पण्डितले बताए ।अहिले घरमै संक्रमित महिलाको उपचारको लागि अक्सिजनको ब्यवस्था पनि परिवारजनले आफै गरेका छन्।

नेशनल मेडिकल कलेजले स्थापना गरेको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसेनले भने कोरोना बिशेष अस्पतालमा गर्भवती तथा मिर्गौला रोगीलाई भर्ना गर्ने व्‍यवस्था नरहेको बताए । उनका अनुसार अस्पतालसँग सम्झौता गरेकै बेलामा यसरी नै सम्झौता पत्रमा उल्लेख भएको बताए।

पछिल्लो समय वीरगञ्ज लगायत पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या घटदै गएपछि नारायणी अस्पताल मातहत स्थापना गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जेनरल सेवा शुरु गरेको छ । गण्डक अस्पतालमा पनि अहिले कोरोनाका कुनैपनि बिरामीहरु छैनन्। त्यस्तै नारायणी अस्पतालमा भने १५ बेडको अब्जरभेसन कक्ष मात्रै ब्यावस्था गरिएको छ।

तपाईको प्रतिक्रिया