काठमाडौं – मुलुकबाहिर इन्टरनेटमार्फत गरिने कारोबार (ईकमर्श को अर्बौं रुपैयाँ अनौपचारिक माध्यमबाट नेपाल भित्रिने गरेको छ । यसको यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । पछिल्लो समय नेपालबाट सफ्टवेयरलगायत सामग्री अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने क्रम बढेको छ । यस्तै, यूट्युब, फेसबुक, गूगल, जस्ता सामाजिक सञ्जाल र इन्टरनेट तथा अनलाइन पोर्टलहरूबाट पनि आम्दानी गर्नेहरू बढ्न थालेका छन् । यस्तो आय नेपालमा ल्याउन सहज नहुँदा पेपल आदिमा जम्मा गर्ने र उतैतिर खर्च गर्ने चलन छ ।
नेपाल राष्ट्र बैंकले यस्ता ईकमर्शलगायतका माध्यमबाट आर्जन गरेको विदेशी मुद्रा अनलाइन वित्तीय सेवामार्फत नेपालमा रकमान्तरण गर्न सकिने व्यवस्था गरेको छ । यसबाट विदेशी मुद्रामा हुने यस्तो व्यवसाय नेपाल भित्रिन सहज हुने बैंकरहरू बताउँछन् ।
यस्ता कारोबारलाई बैंकिङ दायरामा ल्याएर विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सहयोग पुग्ने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । ‘यसले अनलाइनबाट नै सामान अर्डर दिने र अनलाइनमै भुक्तानी दिने संस्थालाई पनि कानूनी दायरामा ल्याउने काम गर्छ,’ उनले भने, ‘यसर्थ समग्रमा ईकमर्श कारोबार गर्नेलाई भिसा कार्ड, पेपल कार्डजस्ता अनलाइन वित्तीय सेवामार्फत कारोबार गरेर रकम भित्र्याउन सकिन्छ । यसमा ईसेवा, खल्ती, आईएमई पेजस्ता भुक्तानी प्रदायक संस्थामार्फत पनि ईकमर्शको रकम नेपालमा सम्बद्ध व्यक्तिको खाता तथा वालेटमा राख्न सकिन्छ ।’ यो व्यवस्थाले विदेशमा रोकिएको पैसासमेत नेपालको वित्तीय प्रणालीमा भित्रिने वातावरण राष्ट्र बैंकले मिलाएको उनले बताए ।
त्यस्तै विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकेअनुसार शुल्क, रोयल्टीलगायत आवश्यक भुक्तानी विदेशमा पठाउनु परे नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने उल्लेख छ ।