काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारमा क्लिनिकल अध्ययनका लागि विश्वका धेरै देशमा प्रयोग भइरहेको फ्याभिपिराभिर औषधि नेपाली औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले पनि उत्पादन गर्न थालेको छ ।
देउराली जनताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर २०० नाममा ट्याब्लेटका रुपमा उक्त औषधि उत्पादन गरेको हो । देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार कोभिड-१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको हो ।
उनले उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार कोभिड-१९ संक्रमितको उपचारका लागि ‘इन्भेष्टिगेसनल ड्रग फर इमरजेन्सी युज’ (अत्यावश्यक प्रयोग गर्न)को अनुसन्धानका लागि क्लिनिकल अध्ययन गरी प्रभावकारिता कायम गर्न सहकार्यको तयारी भएको समेत जानकारी दिए ।
‘महामारीको यस विषम परिस्थितिमा फाभिर-२०० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड-१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन यस कम्पनीले सम्पूर्ण तैयारी गरिसकेका छौँ,’ देउराली जनताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो औषधि नेपालमा नै पहिलो पटक उत्पादन सुरु भएको हो । यसअघि कुनै पनि नेपाली कम्पनीले यस्ता औषधि उत्पादन गरेको छैन । फ्याभिपिराभिर ओरल ट्याब्लेट्स एन्टिभाइरल औषधिलाई विश्वका धेरैे मुलुकहरुले कोभिड-१९ का बिरामीहरुमा परीक्षणपश्चात् प्रयोग गरिरहेका छन् ।
हालसम्म फ्याभिपिराभिर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड-१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन् ।