आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

एजेन्सी – विश्वमा पहिलो पटक राइट दाजुभाइले विमान तयार गरेर उडाएको कुरा सर्वविदितै छ । यद्यपी श्रीलंकाले भने विश्वमा सबैभन्दा पहिले विमान उडाउने व्यक्ति रावण भएको दाबी गर्दै प्रमाणित गर्न अनुसन्धान गर्ने भएकाे छ ।

श्रीलंका सरकारले आजभन्दा ५ हजार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएको दाबी गरेको हो । यस सम्बन्धमा श्रीलंकाको पर्यटन तथा उड्ययन मन्त्रालयले उक्त विज्ञापनलाई विभिन्न पत्रिकाहरुमा प्रकाशित गरेको छ । रावणसँग सम्बन्धित दस्तावेजहरु शेयर गर्न आम सर्वसाधारणमा अपिल समेत गरिएकाे छ ।

सिंहाली भाषामा छापिएका उक्त विज्ञापनमा भनिएको छ, ‘हामी रावणसँग सम्बन्धित दाबीहरुका विषयमा गहन अनुसन्धान गर्न चाहन्छौँ र यो प्रमाणित गर्न चाहन्छौँ कि दुनियाँको सबैभन्दा पहिलो विमान रावणले नै उडाएका थिए । हामीसँग धेरै तथ्यहरु छन्, आगामी पाँच वर्षभित्रमा त्यसलाई प्रमाणित गरिछाड्छाैँ ।’

सन् २०१६ मा कोलम्बोमा आयोजित सिभिल एभियसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउड्ययन मन्त्री निर्मला सिरिपालाले आधुनिक उड्ययनको इतिहास भलै राइट दाजुभाइबाट सुरु भए पनि रावण एक बहादुर राजा रहेको र उसले दान्दु मोनारा नामको विमान उडाएको दाबी गरेकी थिइन् ।

रामायणमा खलपात्रको रुपमा रहेको रावणलाई श्रीलंकामा निकै श्रद्धा गरिन्छ । श्रीलंकाले आफ्नो पहिलो स्याटेलाइटको नाम समेत रावण-१ राखेको थियो । श्रीलंकाली शोधकर्ताहरुले त्यहाँ ५० वटा यस्ता ठाउँहरु पत्ता लगाएको दाबी गरेका छन् जसको सिधा सम्बन्ध रामायणसँग रहेको छ । त्यसमध्ये एउटा गुफा समेत रहेको छ जहाँ रावणको शव राखिएको दाबी गरिएको छ । उक्त गुफा श्रीलंकाको रेगला जंगलमा रहेको छ ।

तपाईको प्रतिक्रिया