टोकियो – बिहुँकोट समाज जापानले बागलुङका बाढी/पहिरो पीडितलाई ३ लाखभन्दा बढीको आर्थिक सहयोग गरेको छ । समाजले दाताबाट संकलित र आफ्नो कोषमा रहेको गरी ३ लाख ११ हजार २ सय बाढी/पहिरो पीडितलाई सहयोग गरेको हो ।
जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसिखोला गाउँपालिकाका पीडिलाई उक्त रकम सहयोग गरेको समाजले जनाएको छ । दाताबाट संकलित २ लाख ७४ हजार, समाजको नेपालको कोषबाट ३७ हजार र अन्य व्यक्तिबाट २०० गरी उक्त रकम जुटाइएको हो ।समाजका अनुसार ढोरपाटन नगरपालिकाका पीडितका लागि २ लाख ५१ हजार समाजका पदाधिकारीमार्फत मेयर देवबहादुर नेपालीलाई हस्तान्तरण गरिएको छ । यसैगरी बाढी/पहिरोमा परेर मृत्यु भएको तमानखोला गाउँपालिकाका २ जनाका आफन्तलाई २० हजार हस्तान्तरण गरिएको छ । उक्त रकम गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई दिइएको हो ।
यस्तै निसिखोला गाउँपालिकामा बाढी/पहिरोबाट ज्यान गुमाएका ४ जनाका आफन्तलाई ४० हजार सहयोग गरिएको हो । उक्त रकम गाउँपालिका अध्यक्ष तेजेन्द्र विक्रम कुँवरमार्फत हस्तान्तण गरिएको हो । साथै समाजले काठेखोला गाउँपालिका ६ फापरचौरका मृगौला पीडित एवम् कोरोना संक्रमित तारानाथ कडेलका बुबालाई समाज जापानले विहिबार १ लाख १० एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको थियो ।समाजले बाढी/पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रभावितहरुको पीडामा मलम लगाउँने उदेश्यले रकम संकलन गरी सहयोग गरेको जनाएको छ । साथै उक्त अभियान सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।