काठमाडौँ – यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) शनिबार देखि हुदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुदै छ ।
आइपिएल खेल्ने सबै टिम र खेलाडी अहिले युएई पुगिसकेका छन् भने टी-२० क्रिकेटको विश्वकै लोकप्रिय यो प्रतियोगिताको प्रतिक्षा विश्वभरकै क्रिकेट फ्यानहरुले गरिरहेका छन् ।
यसै प्रसंगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने दिल्ली क्यापिटल यस बर्ष सशक्त टिम देखिएको छ । अहिले सम्म आइपिएलको उपाधि जित नसकेको दिल्लीले यस पटक केहि उत्कृष्ट खेलाडीहरु भित्र्याएको छ । जसमा आजिख्य रहाने आर आश्विन, शिमरन हेटमेयर, मार्कस स्टोइनिस प्रमुख रहेका छन् ।
भारतीय राष्ट्रिय टिमका युवा खेलाडी श्रेयस अय्यर कप्तान रहेको दिल्लीको टिममा पृथ्वी शा, ऋषव पन्त र शिखर धवन जस्ता आक्रामक ब्याट्सम्यानहरु रहेका छन् । त्यस्तै मध्यक्रममा आजिख्य रहानेको आगमनले दिल्लीलाई बलियो बनाएको छ ।
दिल्लीक लागि आजिख्यलाई कुन पोजिसनबाट खेलाउने भन्ने अन्योलता भने रहेको छ । तेस्रो नम्बरमा खेलाउदा टी-२० स्पेसलिष्टको रुपमा चिनिएका ऋषव पन्त, श्रेयस अय्यरले कम बल खेल्न पाउने सम्भावना रहन्छ । त्यस्तै ओपनिंगमा शिखर र पृथ्वीको जोडी राम्रो रहेकाले उनलाई ओपन गराउने सम्भावना पनि देखिदैन ।
तिब्र गतिका बलरमा इशान्त शर्मा, मोहित शर्मा रहेका छन् । दिल्लीमा यस्तै अन्योलता स्पिनर बलरमा पनि रहेको छ । भारतीय अनुभवी स्पिनर आर आश्विन आएपछि अर्का भेट्रान अमित मिश्रा, नेपाली युवा बलर सन्दीप लामिछाने तथा अक्सर पटेल रहेका छन् ।
सन्दीपले हालै सम्पन्न सिपिएलमा राम्रो इकोनोमी रेटका साथ लगभग हरेक खेलमा विकेट लिएकाले उनलाई बाहिर राख्न समेत मुश्किल छ भने अनुभवी आश्विन र मिश्रलाई खेलाउदा सन्दीप बाहिर बस्नुपर्ने अवस्था पनि देखिन्छ । सन्दीप खेल्ने नखेल्नेमा विदेशी खेलाडी को-कसले अवसर पाउछन् भन्नेमा पनि भर पर्दछ । आइपिएलमा तीनभन्दा विदेशी खेलाडी खेलाउन नपाइने नियम रहेको छ ।
तर यस पटकको आइपिएल युएईमा भइरहेको र यँहाका पिच स्पिनरलाई सहयोग हुने खालको रहेको बताइएकाले तीन स्पिनर खेलाउने अवस्था आउने र सन्दीपले धेरै अवसर पाउन सक्ने सम्भावना रहेको देखिन्छ ।
सन्दीपले यस अघिका दुई आइपिएलमा प्रयाप्त अवसर पाएका थिएनन् । उनले २०१८ मा केवल ३ खेल खेलेका थिए भने ५ विकेट लिएका थिए । त्यस्तै दोस्रो सिजन २०१९ मा ६ खेल खेलेका थिए भने ८ विकेट लिएका थिए । आइपिएलमा अहिलेसम्म कुल ९ खेलमा १३ विकेट लिएका सन्दीपको इकोनोमी रेट ८.३४ रहेको छ ।
आइपिएलमा दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दिल्ली आइपिएल नजित्ने रोयल च्यालेंजर्स बैंगलोर र किंग इलेभेन पंजावसँगै तेस्रो टिम हो । दिल्लीको आइपिएलमा अहिलेसम्मको राम्रो प्रदर्शन २०१२ र २०१९ मा तेस्रो भएको थियो ।
दिल्लीको मुख्य प्रशिक्षकमाअस्ट्रेलियाका पूर्व कप्तान रिक्की पोंटिंग रहेका छन् भने भारतका पूर्व खेलाडी मोहमद कैफ सहायक प्रशिक्षक रहेका छन् । दिल्लीले यस आइपिएलमा आइतबार साँझ किंग इलेभेन पंजावविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
दिल्लीको टिम : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शा, आजिख्य रहाने, शिमरन हेटमेयर, अमित मिश्रा, आर आश्विन, इशान्त शर्मा, सन्दीप लामिछाने, कागीसो रबाडा, मार्कस स्टोइनिस, अक्सर पटेल, कीमो पाउल, हर्षल पटेल, मोहित शर्मा, तुषार देशपाण्डे, ललित यादव, एलेक्स केरी, डेनियल सेम्स, एनरीच नोत्र्जे आदि ।