टोकियो – जापानी मेस्सी अर्थात् ताकेफुसा कुबो पछिल्लो समय स्पेनिस फुटबलमा चर्चामा आएको नाम हो । ला लिगा च्याम्पियन रियल मड्रिडबाट स्पेनिस फुटबलमा आगमन गरेका युवा खेलाडीले एक वर्षमै स्पेनिस फुटबलमा चर्चा कमाउन सफल भए ।
अहिले स्पेनिस क्लब भिल्ला रियलले ला लिगा च्याम्पियन रियल मड्रिडका युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ ।
भिल्लाले सोमबार कुबोलाई एक सिजनका लोनमा अनुबन्ध गरिएको जनाएको छ । यस्तै रियलले कुबोलाई २०२१ को ३० जुनसम्मको लागि लोनमा भिल्ला पठाईएको जनाएको छ ।
जापानिज मेस्सीको नाममा परिचित १९ वर्षीय कुबोले गत सिजन मालोर्काबाट खेलेका थिए । तर, पहिलो सिजन नै मालोर्का रेलिगेसनमा परेको थियो । स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट गत सिजन रियल आएका थिए ।
जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए ।