आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – चीनले हङकङको शान्ति सुरक्षालाई सुदृढ बनाउन पारेको राष्ट्रिय सुरक्षा कानुन पारित गरेको छ। हङकङमा चीनविरोधी गतिविधि बढ्नुका साथै अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको भन्दै हङकङको सुरक्षा नीति परिवर्तन गर्ने उद्देश्यसहित यो कानुन ल्याइएको हो।

चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटीबाट सर्वसम्मतिमा उक्त कानुन पारित भएको र जुलाइ १ बाट लागू हुने जनाइएको छ।

हङकङमा बेइजिङले ल्याउन लागेको सुरक्षा कानुनलाई लिएर चीन र अमेरिकाबीच पछिल्लो समय कुटनीतिज्ञ टकराव चलिरहेको छ।

अमेरिकासहितका पश्चिमा राष्ट्रले चीनले ल्याउने कानुनले हङकङलाई प्रदान गरिएको स्वायतताको विशेष अधिकार कुन्ठित पार्ने र हङकङका नागरिकले उपभोग गर्दै आएको स्वतन्त्रताको अधिकार हनन हुने भएकाले विरोध जनाउँदै आइरहेका थिए।

यसबीच जापानले पनि चीनले हङकङसम्बन्धी विवादास्पद राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि चीनको आलोचना गरेको छ।

चिनियाँ कदम ‘अफसोसजनक’ भएको जापान सरकारको प्रवक्ता योसिहिदे सुगाले बताएका हुन्। चीनको निर्णय चीनकै लागि घातक हुने योसिहिदेको भनाइ छ।

योसिहिदेले चिनियाँ कदमले ‘ एक राष्ट्र दुई नीति सिद्धान्त’ लाई पनि कमजोर बनाएको बताएका छन्।

सन् १९९७ मा बेलायतको नियन्त्रणमा रहेको हङकङलाई चीनलाई हस्तानतरण गरिएको थियो।

गत वर्ष हङकङको सदनमा सुपुर्दगी सन्धी पेस हुँदादेखि नै हङकङमा आन्दोलन चर्किँदै गएको थियो। आन्दोलनकारीहरुले चीनबाट हङकङ स्वतन्त्र हुनुपर्ने माग राख्दै आएका थिए। त्यस्तै उनीहरुले अमेरिका र बेलायतले हङकङलाई स्वतन्त्र बनाउन सहयोग गर्न पर्ने भन्दै सडक संघर्ष गरिरहेका थिए।

 

तपाईको प्रतिक्रिया