काठमाडौँ – इटालियन सिरी ‘ए’अन्तर्गत सोमबार राति युभेन्ट्स र बोलोग्नाबीचको खेलमा रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । सो खेलमा युभेन्ट्सले बोलोग्नालाई घरेलु मैदानमा २–० ले हराएको थियो । यो खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको उपलब्धिलाई सुधारिसकेका छन् ।
रोनाल्डोले दुई सिजनमा कुल ४३ गोल गर्दै इटालीको शीर्ष श्रेणी लिगमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बने । यसअघि उक्त कीर्तिमान रुइ कोस्टाको नाममा रहेको थियो । कोस्टाले सिरी ‘ए’मा आठ वर्ष बिताउँदै फिओरेन्टिना र एसी मिलानबाट खेलेका थिए ।
रोनाल्डो प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १ सय ९६ खेलमा ८४ गोल गरेका थिए ।
रोनाल्डो स्पेनिस ला लिगामा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । रियल म्याड्रिडका समेत सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका छन् । स्पेनिस लिगमा समग्रमा भने लिओनेल मेस्सीले मात्र रोनाल्डोभन्दा बढी गोल गरेका छन् ।