काठमाडौं – नेपालमा कूल ३३३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत ३३३ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका हुन् ।
शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या बढेपनि नयाँ संक्रमितको संख्या भने घट्न सकेको छैन । परीक्षणको दायरा बढेसँगै नयाँ संक्रमित थपिने क्रम बढेको हो ।
आजमात्रै थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो ।
यसैगरी नेपालमा कोभिड(१९ संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे ।
यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको हो । बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।