टोकियो – जापानकी टेनिस स्टार नाओमी ओसाका विश्वको सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडी बनेकी छिन्।
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पछिपार्दै ओसाका सर्वाधिक कमाउने खेलाडी बनेकी हुन्।
पछिल्लो १२ महिनामा ओसाकाले ३८ बर्षकी सेरेना भन्दा १ दशमलव १५ मिलियन पाउण्ड रकम बढी आम्दानी गरेकी छिन् । दुवै खेलाडीले रुसी खेलाडी मारिया सारापोभाले सन् २०१५ मा आर्जन गरेको २४ दशमलव ४ मिलियन पाउण्डको कीर्तिमानी रकम तोडेका छन् ।
फोर्ब्स म्यागजिनका अनुसार दुई पटककी ग्राण्डस्लाम विजेता २२ वर्षीया ओसाकाले पछिल्लाे १२ महीना पुरस्कार रकम र विज्ञापनबाट तीन करोड सात लाख पाउण्ड कमाएकी थिइन्। जुन ३८ वर्षे सेरेना विलियम्सको कमाइभन्दा एक करोड १५ लाख पाउण्डले बढी हो।
१९९० बाट फोर्ब्सले महिला खेलाडीको कमाइ पछ्याउन थालेदेखि नै हरेक वर्ष टेनिस खेलाडी शीर्ष स्थानमा रहँदै आएका छन्।
यसअघि पछिल्ला चार बर्ष विलियम्स सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी थिईन् । त्यसअघि सारापोभाले लगातार ५ बर्ष शीर्ष स्थानमा कब्जा जमाएकी थिईन् ।
ओसाकाका बुबा हाइटीमा जन्मिएका हुन् भने आमा जापानकी नागरिक हुन्।
फोर्ब्सले निकालेको विश्वभर धेरै कमाइ गर्ने १०० खेलाडीको सूचीमा ओसाका २९ औं स्थानमा छिन्। उनी सेरेनाभन्दा चार स्थान माथि छिन्। सरेनाले टेनिस करियरमा २३ ग्राण्डस्लामको उपाधि जितिसकेकी छिन्।
फोर्ब्सको पूर्ण सूची अर्को साता सार्वजनिक हुने बीबीसीले जनाएको छ। फोर्ब्सका अनुसार २०१६ यता दुई महिला सूचीमा परेका थिएनन्।
सेरेना र ओसाका २०१८ को यूएस ओपनको फाइनलमा आमनेसामने भएका थिए। निकै प्रतिस्पर्धात्मक तथा विवादास्पद बनेको उक्त फाइनल ओसाकाले जितेकी थिइन्। उक्त खेलमा अम्पायरले नियम उल्लंघन गरेको भन्दै तीनपटकसम्म सेरेनालाई चेतावती दिनुपरेको थियो।
जापानकी ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन्। ।
पछिल्लो समय जापानको विज्ञापनमा ओसाका लोकप्रिय व्यक्तित्व हुन्। एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक देखि विश्व ब्रान्ड नाइके, निसान, योनोक्सलयायतका कम्पनीसँग ओसाका अनुबन्धित छिन्।