काठमाडौं – कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएका देशको सूचिमा रुस दोस्रो नम्बरमा पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रुसमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सोमबार मध्याह्नसम्म रुसमा संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ७२ पुगेको छ । जसमा दुई हजार ६ सय ३१ जनाले ज्यान गुमाएका छन् । रुसमा अहिलेसम्म ६७ हजार तीन सय ७३ जना निको भएका छन् भने दुई लाख ११ हजार सात सय १८ जनाको उपचार चलिरहेको छ ।
एक महिना अघि ११औ नम्बरमा रहेको रुस लगातार संक्रमण बढ्दै गएपछि दोस्रो नम्बरमा पुगेको हो । केही सातायता रुसमा औषत दैनिक १० हजारका दरले संक्रमित थपिदै गएका छन् । गत २४ घन्टामा पनि रुसमा नौ हजार सात सय नौ जनामा संक्रमण देखिएको छ । त्यस्तै, ९४ जनाले ज्यान गुमाएका छन् ।
पहिलो नम्बरमा रहेको अमेरिकामा १५ लाख २७ हजार ६ सय ६४ जनामा कोरोना देखिएको छ । जसमध्ये ९० हजार नौ सय ७८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा तीन लाख ४६ हजार तीन सय ८९ जना निको भएका छन् । १० लाख ९० हजार दुई सय ९७ जना उपचाररत छन् ।