टोकियो – जापानका चर्चित सुमो रेसलरको कोरोना भाइरस संक्रमणका कारण बुधबार बिहान निधन भएको छ ।
वास्तविक नाम कियोताका सुइताके भएका शोबुशीको कोरोना भाइरसका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको हो । उनी यामानासीका बासिन्दा हुन् ।
२८ वर्षीय रेसलर शोबुशीमा अप्रिल १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शोबुशीलाई ४ अप्रिलमा ३८ सेल्सियस ज्वरो आएको थियो। उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए ।
ज्वरो आएको कारणले धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेका थिएनन् । ज्वरो ठीक नभएपछि उनलाई ८ अप्रिलमा टोकियोस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि पनि उनको ज्वरो स्थिर भएन र खकारमा रगत देखिन थालेको थियो।
उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई नवौं दिनमा आईसीयूमा राख्नु परेको थियो।
प्रारम्भिक परीक्षणमा उनको नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो ।
जापानमा कोरोना भाइरसका कारण ३० वर्षभन्दा कम उमेरमा मृत्यु हुने शोबुशी पहिलो व्यक्ति हुन् ।
कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो ।
गत महिना जापान सुमो संघले स्टेबलमास्टर र पाँच सुमो खेलाडीमा कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएको जनाएको थियो।
शोबुशीले २००७ बाट व्यावसायिक सुमो खेल्न थालेका थिए।